महिला टी-२० शृङ्खला : पहिलो खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित

जनता संवाददाता
२०८२ आश्विन १६ गते, बिहीबार

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ।

मलेसियाको बायुमास ओभलमा बिहीबार सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि पूजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाए भने सम्झना खड्काले १६ बलमा १८ रन जोडे । कविता जोशीले १३ रन बनाए । मलेसियाका लागि नुर डानियाले सर्वाधिक तीन विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनाएको थियो । उसका लागि कप्तान विनिफ्रेड डुरैसिङ्गमले सर्वाधिक २७ रन बनाए भने ओपनर ऐना हमिजा हसिमाले २६ रन र मास ऐसाले २५ रन हात पारे ।

नेपालका लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट हात पारे । नेपाली महिला टोलीले आगामी जनवरीमा नेपालमै आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ। सोही प्रतियोगिताको तयारीका स्वरुप नेपालले जारी प्रतियोगिता खेलेको हो।

प्रकाशित मिति : २०८२ आश्विन १६ गते, बिहीबार


Scroll to Top

Janata Media