मन्त्री सिफारिस भएकी टासीबारे भ्रामक टिप्पणी ! वास्तविकता के हो ?

जनता संवाददाता
२०८२ आश्विन २८ गते, मंगलवार

काठमाडौँ । असोज २४ गते एउटा समाचार सार्वजनिक भयो । जहाँ भनिएको थियो, प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको मन्त्री मण्डलमा चार जना मन्त्रीहरु थपिदै छन् । सम्भवत्, सोमबार सम्मै सपथ गराउने तयारी भईरहेको छ । मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका थिए । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, रामजीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

त्यसको भोलि पल्टै मन्त्रीमा सिफारिस गरिएका यि चार जनामध्ये ल्हाजोमका बारेमा सामाजिक सञ्जालमा विभिन्न किसिमका टिका टिप्पणी व्यापक रुपमा उठे । टासीको नागरिकता विषयमा पनि विभिन्न खाले मतहरु आए । यतिसम्म कि, उनी नेपाली नै होईनन् । उनी दलाई लामाको एजेन्ट हुन् । भन्ने सम्मका आरोपहरु उनिमाथि लागे । त्यस लगत्तै उनले आफ्नो नागरिकता, वडाको सिफारिस र जिल्ला प्रशासनको सिफारिस समेत सार्वजनिक गर्नु परेको थियो ।

सबैभन्दा पहिला उनीमाथि लागेका आरोपबारे स्पष्ट पारौँ ।
१. उनी हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ निवासी कन्यु छिमा तामाङकी नातिनी लाक्पा छिरिङ तामाङकी छोरी २५ वर्षिया टासी ल्हान्जोम हुन् । यो प्रमाणित उनको नागरिकता र सम्बन्धित वडाले गरेको सिफारिसले गर्छ । यसबारे थप वडाध्यक्ष पाल्जोर तामाङलाई सुन्नुस् ।

२. अमेरिकाको एजेन्ट भन्दै लगाएको आरोपका विषयमा उनले हामीसँग स्पष्ट भनेकी छन्, काम गर्ने सन्दर्भमा आफुले अमेरिकन दुतावासमा फारम भरेको त्यसमा छनोट भई राम्रै पारिश्रमिक हुने भएकाले केही समय काम गरेको बताएकी छन् । उनले कुनै खोट नपाएपछि आफूमाथि व्यक्तिगत जीवनलाई जोडेर गलत प्रचार भएको समेत बताएकी छन् । उनको सुरक्षाका कारण उनीसँगको कुराकानी आवश्यक परे सार्वजनिक गर्नेछौँ ।

३. दलाई लामाको प्रचारक भन्दै लगाएको आरोपबारे पनि उनले हामीसँग स्पष्ट भनेकी छन्, आफूले तिब्तियन विद्यालयमा अध्ययन मात्रै गरेको त्यसपछि समाज परिवर्तनका निमित्त काम गरेको बताएकी छन् । उनले यो आरोप हाँस्यास्पद भएको उल्लेख गरेकी छन् । यो पनि उनको सुरक्षाका कारण उनीसँगको कुराकानी आवश्यक परे सार्वजनिक गर्ने नै छौँ ।

मन्त्रीमण्डल विस्तारबारे राप्रपाका प्रवक्ता ज्ञान बहादुर शाहीले पनि टिप्पणी गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा टासीलाई इङ्कित गर्दै दलाई लामाको एजेन्ट, फ्रि तिब्बतको अभियन्ता र नक्कली नागरिकता भएकोलाई मन्त्रीमण्डलमा लिए १७ घण्टामा सरकार ढाल्ने चेतावनी समेत दिए । त्यसपछि उनले आफ्नै टिप्पणीलाई खण्डन गर्दै विदेशी एजेन्ट नस्वीकार्ने तर कर्णालीबाट जो मन्त्री भएपनि आफ्नो समर्थन रहेको उल्लेख गरे । उनै शाहीसँग गरिएको कुराकानी अब प्रस्तुत गर्छु ।

यस लगत्तै उनी आबद्ध आदिवासी जेनजी कलेक्टिभले ल्हान्जोममाथि सामाजिक सञ्जालमा लगाइएको कडा रुपमा प्रतिवाद गर्यो । २५ वर्षीया टासीलाई ‘नेपालीजस्तो नदेखिने’, ‘नेपाली नबोल्ने’ र ‘विदेशी शक्तिबाट परिचालित’ भन्दै मन्त्री बनाउँदा राष्ट्रिय अखण्डतामाथि खतरा हुनेजस्ता भ्रामक कुरा बाहिरिएपछि जेनजी कलेक्टिभले आरोपको खण्डन गर्यो ।

आदिवासी समुदायलाई भाषा, संस्कृति र अनुहारका आधारमा शताब्दियौँदेखि बहिष्करण गरिएको कलेक्टिभको भनाई छ । संविधानमा समानता र समावेशीकरणको ग्यारेन्टी गरे पनि व्यवहारमा विभेद कायम छ । आदिवासी महिला र नागरिकलाई अदृश्य बनाइएको र दोहोरो तेहोरो अन्यायमा पारिएको कलेक्टिभको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपाल शेर्पा संघ, मुगुम् समाज कल्याण केन्द्र, कार्मारोङ विकास समाज, मनाङ समाज सेवा समिति, ओलङ्चुङ्ग समाज कल्याण परिवार, नुवरी लार्खे समाज कल्याण केन्द्र, बाग्लुङ उत्थान समाज, मुस्ताङ बाह्र गाउँ लाछोदुन सेवा संघ, लामा सांस्कृतिक मञ्च हुम्ला, हुम्ला युवा समुह र नाम्ख्युङ समाज हुम्ला जस्ता समुहले ल्हान्जोममाथि लागेका आरोपको कडा प्रतिवाद गर्दै भ्रत्सना समेत गरेका छन् । यो सँगै अधिकांश प्रतिष्ठित व्यक्तिहरुले पनि ल्हान्जोममाथि लागेका आरोपको प्रतिवाद गरेका छन् ।

यसरी विकट हुम्लाको आदिवासी जनजातिबाट अब बन्ने मन्त्रीमण्डलमा अवसर पाउँदा माथिल्लो जातिले तल्लो जातिलाई हेप्ने प्रवृत्ति स्पष्ट देखिएको छ । उनीहरुको दुषित मनसाय फेरी पनि उदाङ्गो भएको छ । उनको व्यक्तिगत जीवनमाथि प्रहार बन्द गरेर क्षमताका आधारमा कर्णालीका जेनजी, आम जनताले पुरा समर्थन गर्न आवश्यक देखिन्छ ।

यो पनि पढ्नुहोस्ः

राष्ट्रियताको प्रश्न उठेपछि टासीको नागरिकता र वडाको सिफारिस सार्वजनिक

प्रकाशित मिति : २०८२ आश्विन २८ गते, मंगलवार


Scroll to Top

Janata Media