मालपोतका खरिदारविरुद्ध दुई लाख घुस प्रकरणमा मुद्दा दर्ता

जनता संवाददाता
२०८२ आश्विन २८ गते, मंगलवार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध दुई लाख रुपियाँ घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार भण्डारीले साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गाधनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागी लिएको प्रमाणित भएको हो।

उक्त उजुरीका आधारमा आयोगको टोलीले भण्डारीलाई दुई लाख रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

आयोगको अनुसन्धानले भण्डारीले सेवाग्राहीसँग अवैध लाभका लागि रकम मागी लिएको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम भ्रष्टाचारको कसुरमा दोषी ठहर गर्न मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ।

आरोपपत्रमा आयोगले भण्डारीमाथि बिगो रु। २ लाख कायम गरी सोही परिमाणको जरिवाना र कैद सजाय मागदाबी गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सरकारी सेवामा रहेर घुस लिने कर्मचारीमाथि अख्तियारले शून्य सहनशीलताको नीतिअनुसार कारबाही अघि बढाउँदै आएको छ।

प्रकाशित मिति : २०८२ आश्विन २८ गते, मंगलवार


Scroll to Top

Janata Media