लोकतान्त्रिक प्रणालीको अभ्यास गर्नका लागि सङ्कल्प यात्रा हो: केपी ओली

जनता संवाददाता
२०८० मंसिर १४ गते, बिहीबार

गोठालापानी (बैतडी) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीको उचित अभ्यास नहुँदा देशमा अराजकता र अस्थिरता बढेकाले त्यसलाई रोक्न सङ्कल्प यात्रा गर्नुपरेको बताएका छन् ।

राष्ट्रिय एकता र सम्वृद्धिका लागि बैतडीको झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्राको उद्घाटन गर्न बैतडी पुग्नुभएका अध्यक्ष ओलीले राजनीतिक अस्थिरता अराजकतातर्फ मोडिएकाले देशमा प्रतिगामी शक्ति टाउको उठाइ रहेको टिप्पणी गरे ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै बिहीबार सङ्कल्प यात्राको उद्घाटनपछि गोठालापानीमा आयोजित सभालाई सम्बोधन गर्दै देश र जनाता अब कसैको अधिनमा नरहने स्पष्ट पारे ।

अध्यक्ष ओलीले भने, “लोकतान्त्रिक प्रणालीको उचित अभ्यास नहुँदा देशमा अस्थिरता, अराजकता र आर्थिक सङ्कट निम्तिएका बेला केही तत्व उहिलेका राजाको सालिक बनाएर अहिले जय–जयकार गरिरहेका छन् । लोकतन्त्रको बिरोध गर्ने दुस्साहस गरिरहेका छन् । देश अब पछाडि फर्किन सक्दैन ।”

अध्यक्ष ओलीले जनता अब कसैका रैती बन्न नसक्ने स्पष्ट पारे । उनले जन्मजात कसलाई राजा मान्न नसकिने बताए । “देशलाई अराजकतातर्फ जानबाट एमालेले रोक्छ” अध्यक्ष ओलीले भने, “अराजकता र अस्थिरतालाई रोक्दै देश अब सम्वृद्धिको बाटोमा अघि बढेको छ । त्यसको सुरुवात एमालेको बैतडीको झुलाघाटबाट पूर्वको पाँचथरको चिवा भञ्ज्याङ्गको सङ्कल्प यात्राले तय गरेको छ ।”

अध्यक्ष ओलीले संकल्प यात्रा संबादको यात्रा, सम्भावनाको यात्रा, अध्ययनको यात्रा र सुखी नेपाली सम्वृद्ध नेपाल बनाउने यात्रा भएको बताए ।

अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङसम्मको मध्यपहाडी भूभागको अध्ययन, अवलोकन गरी विकासको सम्भावना पहिल्याउने बताए ।

उनले भने, “मध्यपहाडी भूभागको यात्राका क्रममा युवाहरुलाई स्वदेशमै टिकाउन, उच्चस्तरी शिक्षा, गुणस्तरी स्वास्थ्य, रोजगारीका अवसर के केसरी सिर्जना गर्न सकिन्छ रु भन्ने विषयमा जनतासँग सघन सम्वाद गर्छौ ।”

अभियानका क्रममा शिक्षक, प्राध्यापक, भूगोल विशेष, स्थान विशेषका विज्ञहरुसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीले बताए । झुलाघाटबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्रा पाँचथरको चिवा भञ्ज्याङ पुगेर पुस १ गते झण्डोत्तोलन गरी समापन हुने उनले बताए ।

सङ्ल्प यात्रामा आमजनता उत्साही भएको देख्दा खुसी लागेको बताउनुहुँदै ओलीले यात्रामा हिँड्ने शिक्षक, पत्रकार, स्वास्थ्यकर्मी र जनवर्गीय संगठनको भूमिकाले ठूलो योगदान गर्ने बताए ।

एमालेले सुरु गरेको सङ्ल्प यात्राले सरकारी अकर्मण्यता, ओरालो लागेको अर्थतन्त्र, अराजक र अस्थिर राजनीतिलाई सही दिशानिर्देश गर्ने उनले दाबी गरे ।

उनले भने, “सङ्कल्प यात्राले देश विकासका लागि चिन्तन मनन गर्न मद्दत पुग्नेछ । राष्ट्रिय हितमा योगदान पु¥याउने, सकारात्मक परिवर्तन गर्न सकारात्मक नेतृत्व र शक्तिको आवश्यकता रहेकाले त्यसको नेतृत्व एमालेले गरेको छ । यात्रामा सबै अनुशासित भएर सहभागी हुनेमा विश्वास व्यक्त गर्दछु ।”

प्रकाशित मिति : २०८० मंसिर १४ गते, बिहीबार


Scroll to Top

Janata Media