उच्च अदालत पाटनको आदेशसँगै काठमाडौं महानगरमा ‘सुर्ती बेच्न पाउने’

जनता संवाददाता
२०८० मंसिर २९ गते, शुक्रबार

काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै महानगरले सुर्तीजन्य पदार्थ जफत गर्न खटाएको प्रहरी बल सहितको टोलीलाई फिर्ता बोलाउने भएको छ।

श्रीराम टोबाको उद्योगले हालेको मुद्दामा शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उच्च अदालतको आदेश पालना गर्ने बताउँदै सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने निर्णय ‘रोक्ने’ बताए।

‘जनतालाई प्रत्यक्ष असर नपरोस् भन्नका लागि हामीले सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेका थियौँ। महानगरको कुनै फाइदाका लागि थिएन। राज्यको कानुन, मान्नै पर्‍यो। उच्चको ‘स्टे अडर’ भोलीसम्ममा आइपुग्ला आएको खण्डमा रोक्नै पर्ला’ उनले भने।

उनले महानगरको यस निर्याणपछि धेरै सार्वजनिक स्थानमा चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्नहरुको संख्या उल्लेख्य रुपमा कम भएको सुनाए।

‘हिजो हामीले ५० किलो भन्दा बढीको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएका थियौँ’ प्रवक्ता मानन्धरले नागरिक न्युजसँग भने ‘आज खासै फेला परेन, व्यापारीहरूले पनि मनन गरेका रहेछन्। एकै दिनमै यती धेरै परिवर्तन भयो। यती राम्रो कामलाई राज्यले रोक्छ भने हामीले के नै भन्नु छ र, हामी ‘रोक्छौ’। कानुन भन्दा बाहिर जादैंनौ’

महानगरले सुर्ती, खैनी, गुट्खा, पान पराग जस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाएको थियो। साथै चुरोट खुद्रा बेच्न र सार्वजनिक स्थानको १०० मिटर वरपर धूम्रपान गरे १०० रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरेको थियो।

तर, त्यसविरुद्ध श्रीराम टोबाको उद्योगले रिट दायर गरेको थियो। सोही अनुरूप आज उच्चले महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

प्रकाशित मिति : २०८० मंसिर २९ गते, शुक्रबार


Scroll to Top

Janata Media