काठमाडौं। सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुले छलफल गरेका छन्।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने सन्दर्भमा नेताहरुको छलफल भएको हो।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताबिच छलफल भएको हो। छलफलमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार शीर्ष नेताले विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्ने सन्दर्भमा छलफल भएको छ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडोभन्दा चाँडो टुङ्ग्याएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी छलफल अगाडि बढेको बताए।
उनले भने, ‘‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहितको बैठक भएको हो बालुवाटारमा। मूलतः अहिले प्रतिनिधि सभाको समितिमा विचाराधीन रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा नै केन्द्रित भएर छलफल भएको छ। त्यो विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्ने। त्यसमा केही थप छलफल गर्नुपर्ने ३र४ वटा विषय देखिएका छन्, ती विषयहरुमा पनि थोरै छलफल गर्ने। अब त्यसलाई चाँडोभन्दा चाँडो टुङ्ग्याएर शान्ति प्रक्रियाको बाँकी कामलाई चाँडै निष्कर्षमा पुर्याउनुपर्छ भन्ने भावका साथ र त्यही बुझाइका साथ बैठक भएको छ। भोलि फेरि ४ः३० मा बस्ने गरेर आज हामी उठेका छौँ। ’’
तीन शीर्ष नेताबीच भोलि (सोमबार) दिउँसो साढे चार बजे पुनः बालुवाटारमा बैठक बस्ने प्रमुख सचेतक लेखकले जानकारी दिए।







