शिव मन्दिर-त्रीवेणी चोक सडकखण्ड निर्माण कार्यमा प्रतिनिधिका आश्वासन मात्र

यो बाटोले दर्जनौ भन्दा बढिलाई वडा अध्यक्ष, मेयर, नेता, सांसद, मन्त्री, महामन्त्री, अर्थ समितिको सभापति सम्म बनायो तर यिनिहरुले दशकौं देखि बाटोलाई बनाउन चाहेनन्

जनता संवाददाता
२०८० माघ ५ गते, शुक्रबार

ददिराम बुढाथोकी
काठमाडौं । शिव मन्दिर त्रीवेणी चोक सडकखण्ड निर्माणको लागि यहाँबाट निर्वाचित जनप्रतिनिधिहरुले आश्वासन दिएको झण्डै दशक बितिसक्यो । चुनावका बेला आश्वासन मात्रे नभएर प्रतिबद्धता जाहेर गर्न पनि पछि नहट्ने तर अहिले आएर स्टिमेट समेत संलग्न गरेर प्रतिवेदन दिँदा पनि चासो दिएका छैनन् ।

शिव मन्दिर त्रिवेणी चोक देखि साल्मी डोलको पुल हुँदै राष्ट्रिय सहिद पार्क जगडोल जोड्ने मुख्य सडक हो। ‘यो सडक हजारौ मानिसको दैनिकिसँग प्रत्यक्ष रुपमा जोडिएको छ, तर समयमै निर्माण नभएका कारण हामिले दशकौं देखि सास्ति खेप्दै आएका छौ।’ भनेर एक स्थानियले गुनासो पोखे।

खरिबोट सडक खण्ड काठमाडौँ महानगरपालिका वडा नं ६, बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र १२ साथै गोकर्णेश्वर नगरपालिका वडा नं ९ र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र ४ को सिमानामा पर्दछ। यसका हिसाबले पनि यो सडकमा धेरै निकाय र जनप्रतिनिधि जोडिन्छन्। जनताको समस्यालाई समाधान गर्न प्राय: समाजले एउटा या दुईवटा प्रतिनिधि पठाउछ तर यहाँको समाजले सांसद मात्रै सात जना पठाएको छ। यसरी जनप्रतिनिधिको जमात पठाउँदा पनि एउटा बाटोको अवस्था झन् झन् नाजुक हुँदै जान्छ भने ति कस्ता प्रतिनिधि परे भन्ने बुझ्न त्यति गाह्रो नपर्ला।

जनप्रतिनिधिलाई गरेको विश्वास सम्झदै यस क्षेत्रको ढल निकास,सडक पेटि निर्माण, बर्षामा डुबानको समस्याबाट मुक्त हुनका लागि बिगत २०६३ साल देखि निरन्तर गगन थापा, सन्तोष चालिसे जस्ता व्यक्तिलाई आज  जिताएपनि आश्वासन र झारो टार्ने कार्य बाहेक हामिले केहि पाउन नसकेको २०७९ चैत २० गते बसेको सर्वपक्षिय बैठकमा सहभागी स्थानियले बताएका छन् ।

शिव मन्दिर-त्रीवेणी चोक सडकखण्डको अवस्था

‘सन्तोष चालिसे ज्युले २०७९ चैत २८ गते सम्ममा सडक निर्माणको कुल लागत सहितको स्टिमेट फाईल बनाएर गोकर्णेश्वर र बुढानिलकण्ठको सिफारिसमा मेरो सचिवालय ल्याउनु भयो भने म दश देखि बिस करोड सम्म बजेट जिम्मा लिन्छु भने तर अहिले सम्म काम भएन ।’ एक स्थानीयले गुनासो गरे ।

हुन पनि बिकास निर्माण ढिला सुस्तिको गतिलो नमूना यो भन्दा अर्को नहुन सक्छ। किनकि शिव मन्दिर त्रीवेणी चोक सडकखण्डको समस्यामा काठमाडौं महानगरपालिका, गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका साथै संघका सांसद सन्तोष चालिसे, गगन थापा, अम्बिका बस्नेत, शान्ति श्रेष्ठ गरी चार जना र प्रदेश सांसद छिरिङ्ग दोर्जे लामा, जयराम थापा र मिना पराजुली गरी तिन र जम्मा सात जानाको जम्बो समुह छ। तर यि जनताबाट चुनिएका प्रतिनिधिहरुले जनताको समस्यालाई भोट माग्ने गतिलो भाडोको रुपमा प्रयोग गर्दै आएका छन्।

‘प्रदेशका सांसदहरुले आर्थिक वर्ष २०८०/०८१ बजेटको १ करोड ७० लाख रकम सडक निर्माणमा लगाए पनि त्यसले खासै प्रभाव पार्न सकेन, हात्तिको मुखमा जिरो जस्तै भयो ।’ भनेर समितिका एक सदस्यले बताए।

शिव मन्दिर त्रीवेणी चोक सडकखण्डको अवस्था, समस्या र त्यस समस्यालाई समाधान गर्ने बजेट स्टिमेट फाईल सम्बन्धित निकाय र सबै प्रतिनिधिलाई पुगिसक्दा पनि आवश्यक पहल कदमि अझै सम्म हुन सकेको छैन। वर्षा याममा यो सडक कतिपय ठाउँमा खुल्ला ढलका कारण हिडि सक्नु हुदैन। हिउँदमा निर्माण कार्यको नाम निसाना समेत छैन।

प्रकाशित मिति : २०८० माघ ५ गते, शुक्रबार


Scroll to Top

Janata Media