१७ वर्षमुनिकाे एसियन कप छनाेट : नेपाल अन्तिम खेलमा पनि पराजित

जनता संवाददाता
२०७९ आश्विन २३ गते, आईतवार

काठमाण्डाै । १७ वर्षमुनिकाे एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । भियतनाममा आज आइतवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल चाइनिज ताइपेसँग ४–२ गोलले पराजित भएको हो ।

१० खेलाडीमा समेटिएको नेपालले अन्तिम १० मिनेटमा २ गोल खायो । त्यसअघि पहिलो हाफमा नेपालले २ गोल खाएको थियो । चाइनिज ताइपेका लिन हाइ चिङले २, ताइ यान याउ र लु थिङले एक/एक गोल गरे । नेपालका कप्तान प्रशान्त लक्षम र धन सिंह विकले गोल गरे । नेपालका दीपक थापा मगर ७८ औँ मिनेटमा दोहोरो पहेँलो कार्डपछि रातो कार्ड खाएर बाहिरिएका थिए ।

यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३–० र आयोजक भियतनामसँग ५–० ले पराजित भएको थियो । समग्रमा १२ गोल खाएको नेपालले दुई गोलमात्रै गर्न सक्यो ।

समूह ‘एफ’ मा रहेका नेपाल र चाइनिज ताइपेई यसअघि नै छनोटबाट बाहिरिएका थिए । समूह विजेता एसियन कपमा छनोट हुनेछ ।

प्रकाशित मिति : २०७९ आश्विन २३ गते, आईतवार


Scroll to Top

Janata Media