चलचित्रमा काम छैन, म्युजिक भिडियोमा व्यस्त

जनता संवाददाता
२०८० माघ २९ गते, सोमबार

काठमाडौँ, । सामाजिक सञ्जाल युट्युब अहिले म्युजिक भिडियोमा अभिनय गर्नेका लागि राम्रो आयआर्जनको स्रोत बनेको छ । यसले कलाकारलाई व्यस्त मात्र बनाएको छैन, म्युजिक भिडियोको निर्माण सङ्ख्यासमेत बढाउने काम गरेको छ  । चलचित्र गतिविधि ठप्प भएसँगै बेरोजगार जस्तै भएका कलाकारले पछिल्ला दिनमा छोटो समयको सुटिङमा तयार भएको म्युजिक भिडियोबाट राम्रो आयआर्जन गर्न थालेका छन् ।

आयआर्जन हुन थालेपछि अभिनेता राजेश हमाल, पल शाह, पुष्प खड्का दयाहाङ राई, विपिन कार्की, स्वस्तिमा खड्का, दीपाश्री निरौला, वर्षा राउत, प्रदीप खड्का, किरण केसी, सरोज खनालदेखि आर्यन सिग्देलसम्मका कलाकार म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् । म्युजिक भिडियो निर्देशकका अनुसार अचेल चलचित्रको भन्दा म्युजिक भिडियोको प्रचार धेरै हुने गर्दछ ।

कलाकार सरोज खनालका भनाइमा म्युजिक भिडियो धेरै बने पनि त्यसको लगानी उठाउन भने हम्मे हम्मे पर्ने गरेको छ । निर्माताले नै प्रवर्धन गरेर आफ्नो गीतलाई धेरैभन्दा धेरै श्रोतामाझ पुर्‍याउने गरेका छन् । कतिपय कलाकारको हकमा चलचित्र हातमा नभएर नै म्युजिक भिडियोतिर लाग्न बाध्यता रहेको पनि कलाकार खनाल स्विकार्नु हुन्छ । कलाकार कलासँग नै जोडिइरहने भएको हुनाले पनि यस्तो भएको हुन सक्ने उनको भनाइ छ । एउटा म्युजिक भिडियो तयार पार्न राम्रो लगानीको आवश्यक पर्छ । त्यसैले एउटा म्युजिक भिडियो बनाउन नौ÷दस लाखसम्म खर्च हुने खनाल बताए । नायक पल शाह, पुष्प खड्का, आकाश श्रेष्ठ जस्तो चल्नु भएका कलाकारले एउटा म्युजिक भिडियोमा अभिनय गर्न सवादेखि डेढलाख रुपियाँसम्म लिने गरेको कलाकार खनालले बताए। कुनै बेला नायक राजेश हमालले पनि एउटा म्युजिक भिडियो गर्न १२ देखि १५ लाखसम्म लिनुभएको थियो भन्ने पनि सुनिएको थियो । यसको राम्रो पक्ष भनेको कलाकारले रोजगारी पाइरहनुभएको छ ।

पछिल्लो समय भिडियोमा पैसा खर्चनेमा विदेशमा बस्ने नेपालीको बाहुल्य छ । उनीहरू सर्जक र मोडलका रूपमा म्युजिक भिडियोमा लगानी गरिरहेको देखिन्छ । कलाकार सागर लम्साल ९बले० विदेशमा बस्ने नेपालीको लगानीमा पनि म्युजिक भिडियो बन्ने कुरा सहजै स्विकार्नु हुन्छ । महिनामा चारदेखि पाँच वटा म्युजिक भिडियोमा अभिनय गर्न भ्याउनुहुने लम्साल म्युजिक भिडियोको आम्दानीबाट निकै प्रफुल्लित हुनुहुन्छ । एउटा म्युजिक भिडियोमा अभिनय गरेबापत एकदेखि डेढ लाख रुपियाँसम्म लिने गरेको उनले बताए । उनी चलचित्रमा भन्दा म्युजिक भिडियोबाट आम्दानी बढी हुने बताउछन् । उनका अनुसार पहिला युट्युबबाट मात्र पैसा राम्रो आम्दानी हुन्थ्यो भने अहिले अडियो प्लेटफर्मले झन् माथि उठाएको छ ।

दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसक्नुभएका शान थापाको भनाइ केही फरक छ । उनी म्युजिक भिडियोको अवस्था एकदमै नाजुक रहेको टिप्पणी गर्नुहुन्छ । उनले भने “पहिलेभन्दा अहिले युट्युब भ्युजमा कमी आएको छ । जब बजारमा सामान बिक्री हुँदैन भने लगानीकर्ताले किन लगानी गरोस् ।” पहिला महिनामा एक दर्जन म्युजिक भिडियोको निर्देशन गरिन्थ्यो भने अहिले त्यो अवस्था छैन । पछिल्लो समय कलाकारका आफ्नै युट्युब च्यानल भएका कारण धेरैले आफैँले लगानी गरेर पनि म्युजिक भिडियो निर्माण गरिरहेका छन् । म्युजिक भिडियोले गर्दा प्राविधिकदेखि कलाकारहरू खाली भने बस्नु परेको छैन । कलाकार किरण केसी म्युजिक भिडियो गर्ने भनेको फेसन भएको बताए । असार साउनको आउने भेल जस्तै म्युजिक भिडियोमा पनि भेल बगे जस्तै भएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० माघ २९ गते, सोमबार


Scroll to Top

Janata Media