धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषय सर्वोच्च अदालतमा पुगेको छ। नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गराएका हुन्।
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिको रंजिता श्रेष्ठ पक्षका सांसद र एक स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीका नेता सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए।
आफूले सरकार गठनलाई आवश्यक बहुमत सदस्यको दस्तखतसहित दाबी पेश गरे पनि प्रदेश प्रमुखले संवैधानिक कर्तव्यबाट च्युत भई आफूलाई मुख्यमन्त्री बन्न बन्चित गरेको निवेदकको दाबी छ।
‘नागरिक उन्मुक्ति पार्टीका दुई जना माननीय प्रदेश सभा सदस्यबाट दाबी पेश हुन आएको सन्दर्भमा दुबै दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएको भनी गोलमटोल भाषामा तथ्यलाई तोडमोड गरी संवैधानिक कर्तव्यको अपालन र उल्लंघन गरी नयाँ गठबन्धनको लागि समय र स्थान उपलब्ध गराउने विपक्षीहरुको क्रियाकलाप बदनियतपूर्ण रहेबाट बदरयोग्य रहेको छ’ रिटमा उल्लेख छ।
रिटमा सोडारीको मुख्यमन्त्री नियुक्तिका सबै प्रकृया रोकी आफूलाई मुख्यमन्त्री नियुक्त गर्न अन्तरिम आदेश माग गरेका छन्।