‘सङ्क्रमणकालीन न्याय अन्तिम चरणमा छ भन्दै प्रधानमन्त्रीले विश्वमञ्चमा गएर भ्रम छरे’

जनता संवाददाता
२०८० आश्विन ६ गते, शनिबार

काठमाडौं । मानव अधिकारकर्मी चरण प्रसाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायको अन्तिम चरणमा छ भन्दै बिश्वमञ्चमा गएर भ्रम छरेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित जनअधिकार अभियान नेपालको आठौँ वार्षिक साधारण सभा एवं प्रगतिशील कानुन व्यवसायी एसोसिएसन दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

नेपालमा सङ्क्रमणकालीन न्याय सुरु नै नभएको दाबी गर्दैै उनले प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायको अन्तिम चरणमा छ भन्दै संयुक्त राष्ट्रसंघमा भाषण गरी जनतामा भ्रम छर्ने काम गरेको बताएका हुन् ।

प्रसाईँले भने, ‘संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीले नेपालको तर्फबाट आफ्नो भाषण गरे। भाषणमा यो सङ्क्रमणकालीन न्यायलाई चाँडोभन्दा चाँडो टुङग्याउछौं । प्राथमिकतामा राखेका छौं । यो विधेयक संसदमा विचाराधीन छ भने तर हाम्रो सङ्क्रमणकालीन न्याय सुरु नै भएको छैन अन्तिम चरणको त कुरा छोडौं । बिश्वमञ्चमा गएर त्यसरी भ्रम छर्दा कस्तो असर पर्छ ? ’

उनले सरकारले संविधान र अन्तर्राष्ट्रिय मापदण्ड पनि पालना नगरेको आरोप पनि लगाए ।

प्रसाईँले भने, ‘संविधान सरकारले पालना गर्नुपर्छ त्यो भएको छैन । अन्तर्राष्ट्रिय मापदण्ड पनि पालना भएको छैन । राजनीतिक हस्तक्षेपले अड्काउने काम भएको छ । सङ्क्रमणकालीन न्यायको काम सुरु नै भएको छैन ।’

प्रकाशित मिति : २०८० आश्विन ६ गते, शनिबार


Scroll to Top

Janata Media