वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु, क्षतिपूर्तिमा १ करोड ३३ लाख खर्च

जनता संवाददाता
२०८१ बैशाख ३१ गते, सोमबार

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र नवलपुरसँग जोडिएको मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षको १० महिनामा वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु भएको छ । अरु १२ जना सख्त र १५ जना सामान्य घाइते भएका चितवन राष्ट्रिय निकुञ्ज कसराले जनाएको छ ।

साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा वन्यजन्तुको आक्रमणबाट चार सय दुई वटा घटना घटेका छन् । वन्यजन्तुले पशु, गोठ र भण्डारण गरेर राखेको तथा खेतबारीका अन्नबालीमा पनि क्षति पुर्याएका छन् । निकुञ्जले वन्यजन्तुले पुर्याएको क्षतिपूर्ति बापत १ करोड ३३ लाख ९४ हजार ६०९ रुपियाँ राहत वितरण गरेको जनाएको छ ।

१० महिनाको अवधिमा सबैभन्दा धेरै हात्तीको आक्रमणका ११२ वटा घटना भएका छन् । त्यस्तै गैँडाबाट ९७, बाघबाट ४२, चितुवाबाट ७७, जंगली बँदेलबाट ६९, मगर गोहीबाट २ र अजिङ्गरको आक्रमणबाट ३ वटा घटना भएको निकुञ्जले जनाएको छ ।

गैँडाले पुर्याएको क्षतिबापत सबैभन्दा धेरै क्षतिपूर्ति बापतको राहत रकम तिनुपरेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार गैँडाले पुर्याएको क्षतिवापत ४९ लाख १ हजार १२३ रुपियाँ तिर्नुपरेको छ। त्यस्तै बाघले पुर्याएको क्षतिवापत ३९ लाख ६८ हजार ७८९ र हात्तीले पुर्याएको क्षतिबापत १७ लाख ८३ हजार ६१० रुपियाँ राहत रकममा खर्च भएको छ ।

चितुवाले पुर्याएको क्षतिवापत ११ लाख ६१ हजार ७१० रुपियाँ, मगर गोहीले पुर्याएको क्षतिबापत १० लाख २० हजार, जंगली बँदेलले गरेको आक्रमणको क्षतिबापत ५ लाख ३५ हजार ८५० रुपियाँ राहत वितरण भएको सूचना अधिकारी तिवारीले जानकारी दिए। उनका अनुसार उक्त सबै राहत प्राकृतिक क्षति बापतको रकम हो ।

यो अवधिमा गैँडा र बाघको आक्रमणबाट ३र३ जना र मगर गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुका परिवारलाई जनही १० लाखका दरले ७० लाख रूपियाँ हस्तान्तरण गरिएको छ ।

सख्त घाइतेहरुलाई १९ लाख ६६ हजार ४३२ रुपियाँ र सामान्य घाइते भएकालाई १ लाख ५७ हजार ३४२ रुपियाँ राहत वितरण गरिएको तिवारीले जानकारी दिए ।

यो अवधिमा निकुञ्जले १ सय ४२ वटा पशुधनको क्षतिबापत २० लाख ९५ हजार २१०, भण्डारण गरेको अन्नको क्षतिबापत ८५ हजार, ३१ वटा घरगोठको क्षतिबापत ४ लाख ९६ हजार ९७५ र खेतमा लगाइएको अन्नबालीको क्षतिबापत १५ लाख ९३ हजार ६५० रुपियाँ राहत दिइएको तिवारीको भनाइ छ।

गत आर्थिक वर्ष ०७९र८० मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणका आठ सय ५६ वटा घटना दर्ता भएका थिए भने १२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते, सोमबार


Scroll to Top

Janata Media