काठमाडौं । गोरखामा छुट्टाछुछट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – १ बिरौटा बस्ने कर्णमान तामाङको छोरा वर्ष १६ को मनिष भनिने मेष तामाङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शुक्रवार बेलुका ४ बजेको समयमा मुगे स्थित चेपे खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको उनले बताए । घटना घटेको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय जौवारिबाट प्रहरी निरीक्षक प्रबिन घिमिरेको नेतृत्वमा ५ जनाको टोली घटनास्थल तर्फ पुगी प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी मृतक लासलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
त्यस घट्नाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
त्यस्तै गोरखा नगरपालिका – १० छेपेटार स्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका – ५ पाडा जुगे घर भएका १९ वर्षीय समीर श्रेष्ठको शुक्रवार मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
पालुङटार नगरपालिका – १ खोप्लाङ स्थित मृतक समीर ठुलो आमाको घरमा बस्दै आएका थिए । करिब ३ बजेको समयमा मृतक समीर पौडी खेल्ने क्रममा दरौदी नदीमा डुबेका थिए । ठुली आमाको घरमा बस्दै आएका समीर नदीमा डुबेर अचेत अवस्थामा फेला पारी स्थानीयको सहयोगमा उद्धार गरी छेपेटार मेमोरियल अस्पतालबाट रिफर गरी गोरखा अस्पतालमा पुग्दा उपचारको क्रममा शुक्रवार साँझ मृतक घोषण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । त्यस घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।







