काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ मत पाएका छन्। प्रधानमन्त्री नियुक्त भएको एक सातामै उहाँले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाएका हुन्।
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गरेका थिए।
उक्त प्रस्तावमाथिको लामो छलफलपछि निर्णयार्थ प्रस्तुत हुँदा कुल उपस्थित २६३ सांसद संख्यामध्ये उनको पक्षमा १८८ र विपक्षमा ७४ मत परेको हो । सभामुख देवराज घिमिरेले विपक्षमा मत दिनेभन्दा प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने संख्या बढी भएको भन्दै सदनबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेस, नेकपा (एमाले), जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।
असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।







