वर्षासँगै आएको हावाहुरीका कारण ५० घरमा क्षति

जनता संवाददाता
२०८१ जेष्ठ ७ गते, सोमबार

काठमाडौं । स्याङ्जामा वर्षासँगै आएको हावाहुरीका कारण ५० घरमा क्षति पुगेको छ । गल्याङका ४८ तथा वालिङका दुई घरमा क्षति पुगेको हो ।

हावाहुरीले गल्याङ नगरपालिका ८, ९ र १० वडाका ४८ घरमा क्षति पुर्‍याएको हो । घरको छानो, जस्तापाता समेत उडाएको छ भने १७ वटा गोठ र १ विद्यालयमा पनि क्षति पुगेको छ । जसमध्ये सात वटा घर पूर्णरुपमा क्षति भएको छ ।

शनिबार साँझ आएको हावाहुरीले गल्याङका तीन वडामा मात्रै दुई करोड बराबरको क्षति भएकोे गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए ।

आगलागी र लामो समयसम्म परेको खडेरीका कारण समस्यामा परेका स्थानीयलाई वर्षा आएको हावाहुरीले थप समस्यामा पारेको हो ।

हावाहुुरीले विद्युतका ३० वटा पोल ढलाएको छ भने चापाकोट, बेल्चौर, पाल्पाको रामपुर र हुँगी लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीले पोल ढाल्दा १५ लाख बराबरको क्षति भएको बुटवल पावर कम्पनी, गल्याङ वितरणका शाखा प्रमुख डिल्लीराम ढकालले जानकारी दिए ।

हावाहुुरीले क्षति पुर्‍याएको घरमा स्थानीय तथा प्रदेश सरकारले अनुुगमन गर्नुुका साथै पूर्ण रुपमा क्षति भएर बस्नै नहुने घर परिवारलाई तत्कालका लागि छिमेकीको घरमा बस्ने वातावरण मिलाएको छ ।

यस्तै, वालिङ नगरपालिका–१२ मा हावाहुरीका कारण दुई घरमा क्षति पुगेको छ । हावाहुरीका कारण भएको क्षतिको विवरण सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते, सोमबार


Scroll to Top

Janata Media