काठमाडौं । नेपाल चिकित्सक सङ्घ (एनएमए) ले सार्वजनिक बिदाको समयमा पनि बहिरङ (ओपिडी) सेवा सञ्चालन गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
सङ्घका महासचिव डा। सन्जीव तिवारीले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको दिन ओपिडी सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यावहारिक तथा अवैज्ञानिक भएको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कतिपय सरकारी अस्पतालमा सार्वजनिक बिदाको दिन बहिरङ्ग सेवालगायतका सेवाहरु अरु दिनजस्तो सञ्चालन नहुने गुनासो आएको भन्दै ७ भदौमा स्वास्थ्य सचिवलाई पत्र लेखेर ध्यानाकर्षण गराएको थियो । सोही ध्यानाकर्षणको आधारमा सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिन सो सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशनात्मक परिपत्र गरेको थियो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनमा समेत बहिरङ्ग सेवा सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यावहारिक तथा अवैज्ञानिक भएकोले सो निर्णय फिर्ता लिन सङ्घले आग्रह गरेको छ ।
नेपालमा २०४८ देखि सरकारी अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा दरबन्दी नथपिएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा ज्यादै न्यून रहेकोतर्फ एनएमएले सरकारको ध्यानाकर्षण गराएको छ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले व्यक्तिको श्रम अवधि (काम गर्ने समय) हप्ताको ४० घण्टा तोकेको भए पनि चिकित्सक तथा स्वास्थ्यकर्मी दिनरात नभनी २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मी पनि मानव भएकाले अन्य पेशाकर्मीलाई जस्तै पर्याप्त आरामको आवश्यकता रहेको नबिर्सिन डा. तिवारीले आग्रह गरे । उनले भने, “चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको २ दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहिआएको उल्लेख गरिएको छ ।
स्वास्थ्यकर्मीलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरीत बिदाका दिनमा समेत बहिरङ्ग सेवा सुचारु भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर अत्यधिक थकान हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ ।”
डा। तिवारीले स्वास्थ्यकर्मीलाई पनि अन्य पेशाकर्मीलाई जस्तै आफ्नो कार्यकौशलताको पूर्ण प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न बिदा अपरिहार्य रहेको बताए ।







