एक लाख पाँच हजारभन्दा बढी युवा दक्षिण कोरियामा

जनता संवाददाता
२०८१ आश्विन २ गते, बुधबार

काठमाडौँ । बितेका १६ वर्षमा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत एक लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् । नेपाल र कोरिया सरकारबिच इपिएसमार्फत नेपाली श्रमिक लैजाने सम्झौता अनुसार सन् २००८ देखि हालसम्म एक लाख पाँच हजार ५४४ जना नेपाली युवा दक्षिण कोरिया पुगेका हुन् ।

कोरिया र नेपाल सरकारबिच सन् २००७ मा इपिएसमार्फत नेपाली युवा कोरिया लैजाने सम्झौता सम्पन्न भएको थियो । उक्त सम्झौता अनुसार सन् २००८ देखि नेपाली युवा इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जान थालेकोमा सात हजार २४३ महिलासहित एक लाख पाँच हजार ५४४ जना दक्षिण कोरिया गएर रोजगारी प्राप्त गरेको वैदेशिक रोजगार विभाग इपिएस रोजगार शाखाले जनाएको छ ।

सो शाखाका अनुसार इपिएसमार्फत कोरिया जाने बाटो खुलेसँगै दक्षिण कोरिया भाषा परीक्षामा अहिलेसम्म नौ लाख १९ हजार ६३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । सन् २०२४ का लागि अहिलेसम्मकै बढी एक लाख ८३ हजारभन्दा बढीले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार २८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् । अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका भएकाले पनि कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा बनिरहेको छ । सन् २०२३ मा मात्र १९ हजार ६८९ नेपाली श्रमिक कोरिया पुगेका छन् ।

इपिएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले कम लागत र अन्य देशमा भन्दा धेरै कमाइ हुने भएकाले युवाको प्राथमिकतामा कोरिया पर्ने गरेको बताए । कोरियाले श्रमिक लैजाने प्रक्रिया एकदमै पारदर्शी छ । नेपाल सरकार र दक्षिण कोरिया सरकारबिच (जिटुजी) सम्झौतामार्फत पठाउने भएकाले सुरक्षित भएको भन्दै उहाँले अन्य देशमा जाँदा लाग्ने लागतको तुलनामा इपिएस प्रक्रिया पूरा गरेकालाई असाध्यै कम लागतमा धेरै कमाउन सकिने भएकाले कोरिया नेपाली युवाको पहिलो रोजाइ बन्न पुगेको बताए । इपिएस शाखाका अनुसार अहिले पनि दक्षिण कोरियामा झन्डै ५० हजार नेपाली श्रमिकले काम गरिरहेका छन् । दुई देशबिचको रोजगार सम्झौता हरेक दुईरदुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लो पटक सन् २०२२ मा सम्झौता नवीकरण भएको थियो ।

कोरियाले यसअघि कृषि, पशुपालन तथा उत्पादनमूलक क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकामा यस वर्ष पानीजहाज निर्माणको क्षेत्रमा पनि नेपालीलाई लिन थालेको इपिएस कोरिया शाखाका निर्देशक कँडेल जानकारी दिए । उनका अनुसार दक्षिण कोरियाले यस वर्षदेखि सेवा क्षेत्र, रुट इन्डस्ट्री र वन क्षेत्रमा पनि श्रमिक माग गर्न थालेको छ । कोरियाले नेपालबाट माग गर्ने श्रमिक सङ्ख्या पनि हरेक वर्ष बढ्दै गएको छ । पहिलो पटक सन् २००८ मा इपिएस प्रणालीबाट दुई हजार ८१४ जना श्रमिक लगेको कोरियाले २०२३ मा झन्डै १९ हजार श्रमिक लगेको छ । कोरियाले नेपालबाट नै सबैभन्दा धेरै श्रमिक लैजाने गरेको छ । कोरियाले नेपाललाई सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको भन्दै पुरस्कृतसमेत गरेको थियो ।

इपिएसमार्फत दक्षिण कोरियामा पुगेका नेपाली युवाले साना उद्योग, कृषि क्षेत्र र पानीजहाज बनाउने काम गर्दै आएका छन् । कोरिया गएका नेपालीले मासिक न्यूनतम तीन लाखदेखि बढीमा छ लाख रुपियाँसम्म कमाइ गर्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २०८१ आश्विन २ गते, बुधबार


Scroll to Top

Janata Media