देशभर विपद्‌बाट मृत्यु हुनेको संख्या १०० पुग्यो

जनता संवाददाता
२०८१ आश्विन १३ गते, आईतवार

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या १०० जना पुगेको छ।

यसअघि साँझ ८ बजेसम्म ८७ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार थप १३ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या १०० पुगेको हो।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले १०० जनाको मृत्यु पुष्टि गर्दै अरु ६५ जना बेपत्ता रहेको जानकारी दिए।

अरु ४० जना घाइते भएका छन्। उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ।

यस्तै कोशी प्रदेशमा १३ र बागमती प्रदेशमा ३७ जनाको मृत्यु भएको हो। बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक, काठमाडौं उपत्यकामा २१, बागमतीमा ३२ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन्।

उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ। त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा नौ, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कूल १०० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन्। यस्तै, पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा तीनसहित अन्य जिल्लामा गरेर ६५ जना बेपत्ता भएका छन्।

त्यसैगरी, प्रहरीका अनुसार कोशीबाट ८५३, मधेश प्रदेशबाट ५६, उपत्यकाबाट १ हजार ४५७, बागमतीबाट ५३९ जनाको उद्धार गरिएको छ।

प्रकाशित मिति : २०८१ आश्विन १३ गते, आईतवार


Scroll to Top

Janata Media