माटोको ढिस्कोले पुरिएर हुम्लामा दुईको मृत्यु, एक घाइते

जनता संवाददाता
२०८१ आश्विन १६ गते, बुधबार

हुम्ला । माटोको ढिस्कोले पुरिएर जिल्लाको ताँजकोट गाउँपालिकाका दुई जनाको ज्यान गएको छ ।

दशैंको अवसरमा घर लिपपोत गर्ने माटो खन्न गएका ताँजाकोट गाउँपालिका रोजगार शाखाका सहसंयोजक समेत रहेका प्राविधिक रामागाउँका ध्रुव शाही र सोही गाउँकी २४ वर्षिया मनसरा मल्लको ज्यान गएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिए ।

उनका अनुसार सँगै माटो लिन गएका वडा नम्बर ३ रामा गाउँकै २६ वर्षका लालबहादुर शाही घाइते भएका छन् । उनको उपचारका लागि मैला स्वास्थ्य चौकीमा लगिएको छ ।

दशैको अवसरमा घर छिप्ने सेतो कमेरो माटो खन्ने क्रममा माटोको ढिस्को पुरिएर दुवैजनाको ज्यान गएको हो ।
ताँजकोट पालिकाको वडा नम्बर ३ रामाको औल स्थित सियाणी खोलामा भएको कमेरो माटोको खानीमा बिहानै कमेरो माटो लिन गएका बेला दुवैजनाको ढिस्को पुरिएर मृत्यु भएको छ ।
धेरै वर्षदेखि चाडबाडका अवसरमा कमेरो निकाल्दा ठूलो ओढार परेको ठाउँमा भित्र गएका बेला माथिबाटको ढिस्को पुरिदा शाही र मल्लको घटना स्थलमै ज्यान गएको ताँजकोट गाउँपालिकाले जनाएको छ । कमेरोको ओढारबाट भाग्ने क्रममा लालबहादुर शाही छोपिदा उनि घाइते भएका छन् । उनको तल्लो शरिरमा चोट लागेको बताइएको छ ।

रोजगार शाखाका सहसंयोजक शाहीले भर्खर बिहे गरेका । मृतक मध्ये रामा नैकालाकी मल्ल १२ कक्षामा अध्ययनरत हुन् । घरमा ६ वर्षको छोरा गरेकी मल्लको माइती घर मुगुको धैनमा रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८१ आश्विन १६ गते, बुधबार


Scroll to Top

Janata Media