संसद अवरोध गर्ने/नगर्नेबारे संसदीय दलको बैठकमा छलफल गरिँदै

जनता संवाददाता
२०८१ भाद्र ३० गते, आईतवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसद् अवरोध जारी राख्ने भएको छ । आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलमा पनि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरु छलफलकै क्रममा रहेको र पार्टीको संसदीय दलको बैठकमा सभामुखसँग भएको छलफलबारे कुरा राख्ने बताए । उनले संसदमा भदौ १२ गते नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले बोल्नुभएको हिंसा शब्दमा मात्रै नभइ समग्र जनयुद्धको भावमा प्रहार भएको आरोप लगाए ।

उहाँले भन्नुभयो, ूहामी छलफलकै क्रममा छौँ, माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खालि शब्दमा मात्रै कुरा होइन, समग्र जनयुद्धको भाव, त्यहाँ व्यक्त भएका विषयवस्तुसँग यो सम्बन्धित छ । त्यसकारण हाम्रो दलले अवरोध जारी गर्ने निर्णय गरेको छ । फेरि पनि संसद् व्यवस्थित बनाउनुपर्छ भन्ने कुरा यहाँ भएको छ । यहाँ भएको विषयवस्तु आफ्नो दलमा लगेर राख्दिन्छु । यतिन्जेलसम्म दलले जुन निर्णय गरेको छ, त्यसैअनुसार लैजानेछौँ ।ू

उनले केही समय छलफल गर्नुस् न त भनेर सम्माननीयज्यूले निर्देशन गरिसकेपछि यहाँ छलफल भएको विषयवस्तु आफ्नो दलमा लैजाने बताए । प्रमुख सचेतक पाण्डेले आफूहरु अहिले छलफलकै क्रममा रहेको जानकारी गराए ।

प्रकाशित मिति : २०८१ भाद्र ३० गते, आईतवार


Scroll to Top

Janata Media