कर्णालीको परिचय अब क्रिकेट पनि हुनेछ: सोविता गौतम

जनता संवाददाता
२०८१ आश्विन १७ गते, बिहीबार

काठमाडौँ । प्रतिनिधिसभा सदस्य सोविता गौतमले कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिएको बताएकी छिन्।

पहिलोपटक हुन लागेको नेपाल प्रिमियर लिग ९एनपिएल०ले नयाँ अध्याय थपेको र कर्णाली याक्सले कर्णालीको परिचय थप भएको गौतमले बताइन्। ‘नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्दैछ। यो सुरूवातका लागि नेपाल क्रिकेट संघलाई हार्दिक धन्यबाद तथा बधाई,’ उनले भनिन्।

काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले सामाजिक संञ्जालमा लेखेकी छिन्, ‘अनुपम प्राकृतिक सौन्दर्य, संस्कृती, भेषभुषा, जडिबुटी, अर्गानिक उत्पादनसँगै कर्णालीको परिचयमा अब क्रिकेट पनि थपिनेछ।’

एनपिएल आगामी १५ मंसिरबाट ६ पुससम आयोजना हुँदैछ। त्यसको लागि गत सोमबार कर्णालीले आफ्नो लोगोसँगै टिम नाम ‘कर्णाली याक्स’ घोषणा गरेको थियो। कर्णालीले मुख्य प्रशिक्षक र टिम निर्देशकमा पूर्वकप्तान तथा नेपाल ‘ए’ टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ। टिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन्।

सांसद गौतमले कर्णालीको प्रतिनिधित्व गर्ने कर्णाली याक्सले अत्यन्तै महत्वका साथ आफ्नो टिमको नाम, लोगो र मुख्य प्रशिक्षक सार्वजनिक गरेको बताउँदै टिमलाई शुभकामना दिइन्।

‘एनपिएलमा आन्तरिक प्रतिस्पर्धा गज्जबको हुनेछ, तर यो प्रतिस्पर्धामा कसैले हार्दैन। नेपालको क्रिकेट क्षेत्रले जित्नेछ र एक दिन नेपालले क्रिकेट विश्वकप जित्नेछ।’

प्रकाशित मिति : २०८१ आश्विन १७ गते, बिहीबार


Scroll to Top

Janata Media