अष्टलक्ष्मी शाक्य र ममता झालार्ई पछि पार्दै उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

जनता संवाददाता
२०७९ चैत्र ३ गते, शुक्रबार

काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको मतदानबाट यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनी ३० हजार ३२८  मत प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित भए। उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरेका हुन् । निकटतम प्रतिद्धन्दी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट उम्मेदवार ममता झालाइ पराजित गरेका हुन् ।

शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन् । यस्तै जनमत पार्टीकी झाले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत पाइन् । उम्मेदवारी निष्क्रिय बनाएपनि जसपाकी प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत पाइन् ।

त्यस्तै निर्वाचनमा ४ मत बदर भएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता समेत रहेका यादवलाई उनको दलसहित वर्तमान गठबन्धनको समेत साथ रहेको थियो ।

आज बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

उपराष्ट्रपतिको निर्वाचन संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुन्छ । संघीय संसद सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम रहेको छ ।

उपराष्ट्रपतिको मतदानमा को–को भए अनुपस्थित ?

निर्वाचनमा संघीय संसदका तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन् ।

संघ (राष्ट्रियसभा र प्रतिनिधिसभा) तर्फका जम्मा तीन सय ३४ सांसदमध्ये रवि लामिछानेको पद रिक्त भएको र टेकबहादुर गुरुङ निलम्बनमा परेकाले दुई पद रिक्त छ ।

आजको मतदानमा संघतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक जना सांसद मतदान नगरी तटस्थ बसेका थिए ।

यसैगरी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको तथा सांसदहरु चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन बिरामी भएकाले उपस्थित भएनन् । साथै सहनाज रहमानको निधन भएको थियो भने लक्ष्मी महतो कोइरीको मुद्दाका कारण मतदानमा अनुपस्थित रहेका थिए ।

प्रदेशसभा सदस्यतर्फ राप्रपाका २८ र नेमकिपाका तीन सदस्य मतदान नगरी तटस्थ बसेका थिए भने जसपाका एक सदस्य अनुपस्थित भएको निर्वाचन आयोगले जनाएको छ ।

आज नवनिर्वाचित उपराष्ट्रपतिलाई आजै प्रमाणपत्र दिने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते, शुक्रबार


Scroll to Top

Janata Media