दसैँमा २६ लाखको चामल बिक्री

जनता संवाददाता
२०८१ आश्विन ३० गते, बुधबार

काठमाडौं । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँको अवधिमा छब्बिस लाख रुपियाँ बढीको चामल बिक्री गरेको छ। कम्पनीले चाडपर्व लक्षित छुट अर्थात् सुपथ मूल्यमा चामल बिक्री गर्न थालेपछि दसैँको अवधिमा मात्र २६ लाख २५ हजार ३७५ रुपियाँको चामल बिक्री गरेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले गत असोज ३ गतेदेखि जिल्लामा सुपथ मूल्यमा चामल बिक्री गर्न सुरु गरेको थियो। कम्पनीको सदरमुकाम फुङ्लिङस्थित कार्यालयसँगै रहेका गोदाम (भण्डारण कक्ष) बाट चामल बिक्री गरिरहेको छ। दसैँको अवधि अर्थात् बुधबार पूर्णिमा सम्ममा २६ लाख २५ हजार ३७५ रुपियाँ बराबरको चामल बिक्री गरेको शाखाले जनाएको छ।

शाखा कार्यालयकी कर्मचारी मनिता लिम्बूका अनुसार दसैँको अवधिमा २४३.७५ क्विन्टल अर्थात् २४ हजार ३७५ किलोग्राम जिरा मसिना चामल बिक्री भएको छ। यस्तै ७६ क्विन्टल अर्थात् सात हजार ६०० किलोग्राम सोना मन्सुली चामल बिक्री गरेको लिम्बूले जानकारी दिए । साबिक मूल्यभन्दा पाँच रुपियाँ छुट गरेर जिरामसिना प्रतिकिलोग्राम ८९ रुपियाँ र सोनामन्सुली प्रतिकिलोग्राम ६५ रुपियाँमा बिक्री गरिएको छ।

यता उपभोक्ताको मागअनुसार चामल उपलब्ध गराउन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ। अविरल वर्षापछि आएको बाढीपहिरोले मेची राजमार्ग अवरुद्ध बनेका कारण चामल ढुवानी गर्न नसक्दा उपभोक्तालाई मागेजति चामल दिन नसकेको शाखा कर्मचारी लिम्बूले जानकारी दिए । उनका अनुसार सुपथ मूल्यमा चामल बिक्री गर्न सुरु गरेको करिब एक हप्तापछि सोना मन्सुली चामल सकिएको थियो।

चामल आयात गर्ने तयारी भइरहेको बेलामा मेची राजमार्ग अवरुद्ध बनेकाले ढुवानी गर्न सम्भव नभएको र उपभोक्ताको मागअनुसार चामल दिन नसकेको शाखाले जनाएको छ। त्यसपछि मौज्दात रहेको जिरामसिना चामल मात्र प्रतिव्यक्ति एक बोराका दरले बिक्री गरिएको लिम्बूले जानकारी दिए । हाल कम्पनीको गोदाममा सोना मन्सुली चामल नभएको र जिरामसिना पनि ५२ क्विन्टल मात्र मौज्दात रहेको छ। अब भने मेची राजमार्ग सञ्चालनमा आएकाले चाँडै चामल आयात हुने शाखाले जनाएको छ।

शाखाका अनुसार असोज ३ गतेदेखि सुरु भएको चामलको छुट मूल्य आगामी माघ २ गतेसम्म कायम रहने छ। चाडपर्व लक्षित छुट मूल्यमा चामल बिक्री ताप्लेजुङका लागि कोटा ७०० क्विन्टल रहेको छ। त्यस्तै सामान्य अर्थात् साबिक मूल्यमा बिक्री गर्ने चामलको कोटा ताप्लेजुङलाई दुई हजार क्विन्टल रहेको पनि शाखाले जनाएको छ।

प्रकाशित मिति : २०८१ आश्विन ३० गते, बुधबार


Scroll to Top

Janata Media