काठमाडौं । पूर्वी तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा यातायातको चाप बढ्दै गएको छ । असोजको दोस्रो सातामा अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले भत्काएर क्षतविक्षत पारेको बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डमा ट्र्याक सडक निर्माणसँगै यातायातको चाप बढेको हो ।
“नेपालथोक–भकुण्डेबेँसी खण्डको सडक बाढीले भत्काएसँगै दुई सातासम्म बिपी राजमार्गमा वरपरका बाहेक यातायातका साधन सुनसान जस्तै देखिन्थ्यो,” कमलामाई नगरपालिका–२, चियाबारी निवासी शेरबहादुर मगर भन्छन्, “भत्काएको ठाउँमा ट्र्याक सडक बनाएसँगै दसैँको टीकाको भोलिपल्टदेखि यातायातको चहलपहल बढ्दै गएको छ । होटेलको व्यापार व्यवसाय पनि बढ्दै गएको छ ।”
उहाँका अनुसार बाढीले सडक भत्काएसँगै राजमार्गमा यातायात ठप्प हुँदा यात्रुलाई खाना र खाजा खुवाउन भ्याइनभ्याइ हुने चियाबारीका होटेल सुनसान भएको थियो । अहिले ती होटेल पनि पहिलेको जस्तै लयमा फर्किँदै गएका छन् । दसैँ, तिहार जस्ता चाडपर्वका बेलामा उसै पनि सधैँ जसो बिपी राजमार्गमा यातायातको चाप हुने गर्छ ।
बर्दीबासदेखि धुलिखेलसम्म कुल १६० किलोमिटर लामो बिपी राजमार्गको सिन्धुली जिल्लाको नेपालथोकदेखि काभ्रे जिल्लाको भकुण्डेँसी खण्डमा असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि रोसी खोलामा आएको बाढीले १० किलोमिटरभन्दा बढी सडक भत्काएर क्षतविक्षत बनाएको छ । उक्त भत्काएको ठाउँमा कतै एकतर्फी र कतै दोहोरो यातायात सञ्चालन हुने गरी अस्थायी ट्र्याक निर्माण गरिएको छ ।
बिपी राजमार्ग सञ्चालन भएसँगै राजधानी जाने र राजधानीबाट फर्किने यात्रुको लर्को लागेको छ । गोलन्जोर गाउँपालिका–५, खनियाखर्कस्थित लेकाली होटेल तथा भान्साघरका सञ्चालक विवश थापा बिपी राजमार्गमा गाडीको चाप बढेसँगै आफ्नो व्यवसायमा पनि सुधार आएको बताउँछन् ।
उनले भने, “बिपी राजमार्ग भत्किएर गाडी बन्द हुँदा व्यवसाय शून्य नै थियो । गाउँतिरकै दुई÷चार जनाभन्दा ग्राहक कोही आउँदैनथे । गाडीको चार्ज त झन् ठप्प नै थियो । ट्र्याक बनेर गाडी खुलेसँगै व्यवसायमा सुधार हुन थालेको छ ।” गाडी बन्द हुँदा यात्रुले पाउने सास्तीसँगै सबैभन्दा बढी मारमा व्यवसायी परेको उनले आफ्नो अनुभव सुनाउनुभयो ।जिल्ला प्रहरी कार्यालयका अनुसार फूलपातीका दिनदेखि बिपी राजमार्गमा यातायात खुलेको हो ।
सडक बनेसँगै विजया दशमीको भोलिपल्टदेखि उक्त राजमार्गमा गाडीको चहलपहल बढ्न सुरु भएको हो । असोज २७ गते ९७ वटा, २८ गते ८६ वटा र २९ गते १५० भन्दा बढी यात्रुवाहक सवारीसाधन बिपी राजमार्ग हँुदै बाहिरिएका छन् । प्रहरी नायब उपरीक्षक अनिल खड्काले बिपी राजमार्गमा यातायात सञ्चालनका लागि यसअघि अनुमति प्राप्त सवारीसाधन बढ्दै गएको बताए ।
काभ्रे खण्डमा साँझ सवारी सञ्चालनमा रोक
बनेपा समाचारदाताका अनुसार बिपी राजमार्गको काभ्रेपलाञ्चोक क्षेत्रभित्रको सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै बिपी राजमार्ग अन्तर्गत धुलिखेल–भकुण्डेबेँसी–वर्षेखोला सडकखण्ड साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म आवागमन बन्द रहने जनाएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक सडकखण्डमा खोलिएको ट्र्याकको मर्मत तथा सुधार कार्य भइरहेकाले तत्कालका लागि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको बताए । “बाढीपहिरोका कारण राजमार्गको भकुण्डेदेखि वर्षेखोलाखण्डमा करिब आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भई हाल ट्र्याक निर्माण गरी यात्रुवाहक सवारीसाधनका लागि मात्रै आवागमन खुलाइएको हो,” सिडिई योगेशले भने । उनले जुनसुकै समयमा पनि उक्त खण्डमा सुक्खा पहिरो जाने सम्भावना रहेकाले हालका लागि साँझको समयमा सडक बन्द गर्नु परेको बताए ।
“सडक बन्द नगर्दा रातको समयमा सडक मर्मतको काम गर्न समस्या भएकाले छिटोभन्दा छिटो काम सक्नका साथै मर्मतसम्भारका व्रmममा क्षति नहोस् भनेर यातायातका साधन सञ्चालनमा रोक लगाउनु परेको हो,” सिडिई योगेशले थपे । उनले आफूहरूले सडकको ट्र्याक खुलेसँगै साँझको समयमा सवारी सञ्चालन नगर्नका लागि आह्वान गरे पनि सवारीसाधनले अटेर गरेको बताए ।







