मुक्तिनाथदेखि थोरङ्लापाससम्मको पदमार्ग सरसफाइ

जनता संवाददाता
२०८१ कार्तिक ७ गते, बुधबार

काठमाडौं । मुस्ताङको मुक्तिनाथदेखि राउण्ड अन्नपुर्ण पदमार्ग अन्तर्गतको थोरङ्लापाससम्मको मुस्ताङ तर्फको पदमार्गमा सरसफाइ गर्नुका साथै फोहोर व्यवस्थित तवरले नष्ट गरिएको छ ।

अन्नपुर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोम, बारागुङ मुक्तीक्षेत्र गाउँपालिका र जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा पदमार्ग क्षेत्रमा सरसफाइ गरीएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले जानकारी दिए । उनले भने, विश्वभरका पर्यटकहरुले भ्रमण गर्ने राउण्ड अन्नपुर्ण क्षेत्रको पदमार्गमा रहेका फोहोर संकलन केन्द्र तथा अन्यत्र पर्यटकले यत्रतत्र फालेका फोहोरलाई व्यवस्थीत गरेर नष्ट गर्ने काम भएको छ ।

प्रवक्ता गुरुङले एक्याप, गाउँपालिका र प्रहरीको संयुक्त प्रयासमा पदमार्ग सरसफाइ गरीएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । बिहानैदेखि थालिएको पदमार्ग सरसफाइमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजीन नामगेल गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विष्णु प्रसाद भुषाल, प्रहरी नायव उपरीक्षक (डिएसपी)  सूर्यबहादुर बोगटी, प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेय, लगायतको टोलीको सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर बोगटीले गाउँपालिका तथा एक्याप र प्रहरीको टोलीले वारागुङ मुक्तीक्षेत्र गाउँपालिका–२ फेदी हुँदै समुद्री सतहदेखि पाँच हजार चार सय १६ मिटरको उचाइमा रहेको मनाङ र मुस्ताङको सिमाना रहेको थोरङ्लापास नाकासम्म जाने पैदलमार्ग पर्यटक विश्राम स्थल सरसफाइ गरेको बताए । संयुक्त टोलीले सरसफाइ गर्नुका साथै संकलित फोहोरलाई व्यवस्थीत तबरले प्रदुषण कम हुने तबरले नष्ट गरिएको उनको भनाइ छ ।

नागरिकको सुरक्षा र स्वच्छ वातावरणमा पदयात्रा गर्न सकुन भनेर सरसफाइलाइ महत्वका साथ सम्पन्न गरीएको उनको भनाइ छ ।

अन्नपुर्ण क्षेत्र संरक्षण आयोजना९एक्याप० जोमसोमका प्रमुख प्रमोद रेग्मीले एक्याप क्षेत्र भित्र पर्ने क्षेत्रको संरक्षण साथै यसको प्रचारप्रसार पनि आफूहरुको दायित्व पर्ने बताए । अन्नपुर्ण फन्कोमार्न पदमार्ग मार्फत आउने पर्यटकहरुलाई स्वच्छ वातावरवणमा यात्रा गर्ने अवस्थालाई सुरक्षीत गर्नका लागि पदमार्ग क्षेत्र सरसफाइ गरीएको बताए । उनले एक्याप जोमसोमले राउण्ड अन्नपुर्णको मुस्ताङ भित्र पर्ने थोरङ्ला घाँटी सम्मै सरसफाइ गर्नुका साथै संकलितलाई फोहोर उचित व्यवस्थापन गरिएको बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते, बुधबार


Scroll to Top

Janata Media