प्लाष्टिकका फूलमाला बिक्री रोक

जनता संवाददाता
२०८१ कार्तिक १० गते, शनिबार

काठमाडौं । उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण एवम् प्रयोगमा रोक लगाइएको छ । फूलको पर्व तिहार नजिकिएसँगै बजारमा प्लाष्टिकका फूलमाला आउन थालेपछी नगरपालिकाले सूचना जारी गर्दै तिहारमा प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण एवम् प्रयोगमा रोक लगाउने भएको हो ।

जारी सूचनामा स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवम् प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो भनिएको छ । प्लाष्टिकका फूलको प्रयोगले वातावरण क्षति हुने, माटोमा नकुहिने, नगल्ने, वातावरणीय सौन्दर्य समेतमा नकारात्मक असर पर्ने भएको हुनाले स्वदेशी तथा स्थानीय प्राकृतिक फूलमालाको प्रयोग गर्न नगर प्रमुख विष्णु विष्टले आग्रह गरेका छन् ।

यदि त्यसरी कसैले उपयोग गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीद्वारा जारी सूचनामा भनिएको छ । मकवानपुरका अन्य स्थानीय निकायहरूले समेत स्वदेशी फूलको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन । पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा व्यवसायीक रूपमै तिहारका लागि फूल उत्पादन गरिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते, शनिबार


Scroll to Top

Janata Media