राप्रपाका शिर्ष नेताहरु कर्णाली यात्रामा, जनमत बटुल्ने तयारी

जनता संवाददाता
२०८१ कार्तिक १३ गते, मंगलवार

काठमाडौँ । कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ दिने अभियान सम्पन्न गरेको छ । कार्तिक ६ गते सल्यानको सल्लिबजारबाट सुरु गरेको अभियान मुगुको गमगढीमा सभा गर्दै समापन गरेको हो ।

कार्तिक ६ गते सल्यान जिल्लाको आयोजनामा सल्लिबजार जनसभा भएको थियो । उक्त जनसभामा पूर्वी सुर्खेत र जाजरकोट जिल्ला सम्मका कार्यकर्ताहरूको उपस्थिति थियो । सल्यान बाट राप्रपाले गएको निर्वाचनमा अनिशा नेपालीलाई समानुपातिक तर्फ दलित कोटामा प्रतिनिधिसभाको सदस्य बनाएको थियो ।

कार्तिक ८ गते दैलेखको दुल्लुमा राप्रपाले आमसभा गरेको थियो। राप्रपा महामन्त्री कुन्ती कुमारी शाहीको गृह जिल्ला रहेको र गएको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ शाही उम्मेदवार भएर अघिल्लो निर्वाचनको तुलनामा मत संख्या बढाएकी थिइन् । दुल्लुको आमसभामा दर्जनौँले पार्टी प्रवेश गरेका थिए ।

कार्तिक ९ गते कालिकोटको मान्ममा आमसभा सम्पन्न भएको थियो । राप्रपा प्रदेश अध्यक्ष दिप बहादुर शाही र सहमहामन्त्री धन बहादुर बुढाको गृह जिल्ला कालिकोट हो । २०७९ सालको प्रदेशसभा निर्वाचनमा राप्रपाले कर्णाली प्रदेश सभामा सुशीला शाहीलाई समानुपातिक सांसद बनाएको थियो ।

कार्तिक १० गते राप्रपा नेतृत्वले खस राज्यको राजधानी सिंजा उपत्यकाको अवलोकन गरेको थियो । सोही दिन गुठिज्युलामा भव्य आमसभा सम्पन्न भयो । कर्णाली प्रदेशबाट राप्रपाको तर्फबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ भारी मतसहित निर्वाचित भएका पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीको गृह जिल्लामा भएको आमसभामा विशाल जनसभा भएको थियो ।

कार्तिक ११ गते राप्रपा नेतृत्वले रारा तालको अवलोकन गरेको थियो । पार्टी उपाध्यक्ष रबिन्द्र मिश्रको टिमले विगतमा परोपकारी अभियान चलाएर निर्माण गरेको हेल्प नेपाल हेल्थ पोस्टको अवलोकन तथा निरीक्षण गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही सहित नेताहरू पुगेका थिए ।

यहि क्रममा बाजुरा हुँदै हुम्ला पनि आम सभाका लागि उपनिर्वाचन केन्द्रित भई जाने पनि राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाका अध्यक्ष विकास बहादुर महतले जानकारी दिए । राप्रपाले गरेको कर्णाली यात्रामा राप्रपा हुम्लाका अध्यक्ष महत पनि सहभागी थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते, मंगलवार