तपेन्द्र ऐडी, मुगु । सडक बनाइ रहेको डोजरले खसालेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ भने आमा शक्त घाइते भएकी छन् ।
मृत्यु हुनेमा सोरु गाउँपालिका वडा न १० धैन गाउँ निवासी नौले नेपाली र कल्पना नेपालीका १० वर्षीय छोरा लोक जङ्ग नेपाली रहेको र लोक जङ्गको आमा कल्पना नेपाली शक्त घाइते भएको स्थानीय आशिष् देवकोटाले जानकारी दिए ।
घरायसी कामको लागि हुम्ला गएर आइतबार घर फर्कर्दै गर्दा साँझ ६ बजे तिर गाउँ नजिक सडक खनी रहेको डोजरले खसालेको ढुङ्गा लाग्दा छोराको घटनास्थल मै मृत्यु भएको हो भने आमा घाइते भएकी हुन् ।
कर्णाली प्रदेश सरकारको लगानीमा दोमुख-गमगढी-नाक्चेलाग्ना सडक अन्तरगत सोरु गाउँपालिका १० बजुरे देखि दोमुखसम्म ठेकदारले सडकको ट्र्याक खोल्न काम गरिरहेको थियो । घाइते आमाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र थप उपचारका लागि जिल्ला अस्पताल मुगु लिने तयारी भइरहेको घटना स्थलमा पुग्नु भएका प्रहरी निरीक्षक अच्युत राज आचार्यले जानकारी गराए ।
आइतबार साँझ घटना हुने बित्तिकै प्रहरी चौकी कालैबाट प्रहरी टोली खटिई घटना स्थलमा पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अच्युतराज रेग्मीको नेतृत्वमा सोमबार बिहानै घटना स्थलमा घटनाको अनुसन्धान गर्न थप प्रहरी टोली पुगेको थियो ।
सडक निर्माण गर्दा सुरक्षाका उपाय नअपनाई ठेकदार पक्षले लापरबाही गरी काम गर्दा यो घटना घटेको स्थानीयहरूले आरोप लगाएका छन् ।
घटना कसरी घट्यो, सडक निर्माण कम्पनीले सुरक्षाका उपाय अपनाएको थियो कि थिएन सबै कुरा प्रहरीले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने प्रहरी निरीक्षक आचार्यले बताए।
घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट ५० किमी सडक दुरीमा टाढा रहेको छ ।







