काठमाडौं । युवा ब्याटर किरण ठगुन्नाको सतकको मद्दतमा प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले पराजित गरेको छ ।
दाङको लमहीमा आइतबार जितका लागि २४३ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश ४५।१ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटिएपछि सुदूरपश्चिमले ३१ रनको जीत हासिल गरेको हो ।
सुदूरपश्चिमलाई जिताउन किरण ठगुन्नाले ११५ रन बनाएपछि कोशीले संघर्ष गरेको थियो । २४३ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेशका लागि शकिब हकले सर्वाधिक ६२ रन जोडे । उनि ६६ बलमा ११ चौकासहित ६६ रन बनाएर सौर्य श्रेष्ठको बलमा आउट भए ।
कप्तान अंकित सुवेदी २६ बलमा ६ चौकासहित ३८ रनमा आउट भए । समीर कार्कीले ३७ बलमा ३ छक्काको मद्दतमा ३८ रन जोडे । आशिष भट्टराईले ९० बल सामना गर्दै ४ चौकासहित ३६ रन बनाए। दिपेश कँडेलले १४ रन जोडे ।
कोशीलाई हराउन सुदूरपश्चिमका सौर्य श्रेष्ठले ९ ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । भोजराज भट्टले ४ दशमलब १ ओभरमा २८ रन खर्चेर २ विकेट लिँदा शेर मल्ल, कप्तान नारायण जोशी र राहुल भण्डारीले १र१ विकेट लिए ।
यसअघि लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका किरण ठगुन्नाको सतकीय पारीमा २४२ रन बनाएको थियो ।सुदूरपश्चिमका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चौकाको मद्दतमा ११५ रन बनाए ।
उहाँले सतकपछि ठूला शट प्रहार गर्ने क्रममा फिर्दोश अन्सारीको बलमा लङअफमा प्रकाश कार्कीको हातबाट क्याचआउट भए । फागुन २५ गतेबाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्शालामा गण्डकी प्रदेश विरुद्ध अविजित १२१ बनाउँदै पहिले सतक बनाउने खेलाडी बने।
प्रतियोगितामा सुदूरपश्चिमले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै २४२ रन जोड्यो । सुदूरपश्चिमको पारी उकास्न किरण बाहेक अरु खेलाडीले ब्याटबाट प्रभाव छाड्न सकेनन् । टेक बोहरा १६ रन, अर्जुन बिक १५ रन, शेर मल्ल र कप्तान नारायण जोशी समान १४र१४ रन बनाएर आउट भए । सौर्य श्रेष्ठ र निश्चल क्षेत्रीले १०र१० रन बनाए ।
कोशी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले ९.४ ओभरमा १ मेडनसहित ४८ रन दिएर ४ विकेट लिए । फिर्दोश अन्सारीले ८ ओभरमा १ मेडनसहित ३३ रन दिएर २ विकेट लिँदा कप्तान अंकित सुवेदीले पनि ५ ओभरमा ३० रन दिएर २ विकेट हात पारे ।
दिपेश कँडेल, प्रकाश कार्कीले १र१ विकेट लिए। कोशी विरुद्धको जीतमा शतक प्रहार गरेका सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना प्लेयर अफ दी म्याच भए। जितसँगै आठ खेलबाट ६ अङ्क बटुलेको सुदूरपश्चिम सातौँ स्थानमा छ । पराजित कोशी दुई अङ्कसहित नवौँ स्थानमा छ ।
यस्तै सिद्धार्थ क्रिकेट मैदानमा भएको अर्को खेलमा बसिर अमहमको अर्धशतकप्रेरित विभागीय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको छ । जितका लागि आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७।१ ओभरमा सबै विकेटको क्षतिमा ११२ रनमा समेटिएको थियो ।
जितसँगै आठ खेलबाट १४ अङ्क जोडेको आर्मी दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको नेपाल पुलिस क्लबको सात खेलबाट समान १४ नै अङ्क छ । पराजित लुम्बिनी समान खेलबाट आठ अङ्क जोड्दै पाँचौँ स्थानमा छ ।
यस्तै भैरहवाको एक्ट्राटेक ओभल मैदानमा भएको अर्को खेलमा एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले हरायो । जितका लागि एपिएफले दिएको २५९ रनको लक्ष्य पछ्याएको गण्डकी निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २२७ रनमा समेटिएको थियो ।
जितसँगै सात खेलबाट १० अङ्क बनाएको एपिएफ तेस्रो स्थानमा छ । पराजित गण्डकी आठ खेलबाट दुई अङ्क जोड्दै अन्तिममा छ ।







