बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर गोठ जलेर नष्ट

जनता संवाददाता
२०८१ चैत्र १२ गते, मंगलवार

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन्।

नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट १७ वटा घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिए।

दिउँसो जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए।

खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीका कारण आगो नियन्त्रणमा लिन मुस्किल परेको सशस्त्र प्रहरी उपरीक्षक चन्दले बताए । उनले आगलागीका कारण २५ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, जिन्सी शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा र विपत शाखा प्रमुख भरत महतो सहितको टोलीले घटनास्थलमा पुगेर आगलागी पीडितलाई राहत दिने प्रतिबद्धता गरेको छ।

विभिन्न निकायसँगको समन्वयमा आगलागी पीडितका लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप राहतको व्यवस्था गर्न माग गरिएको अध्यक्ष शाहले बताए।

यसैबीच गाउँपालिकाका अध्यक्ष शाहले यो मौसम हावा हुरीको भएकोले आगलागीको सभावना अत्यधिक रहेको हुँदा सचेत रहन नरैनापुरवासीसँग अपील गरेका छन्। हरेक वर्ष हावाहुरीको मौसममा नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घट्ना हुने गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते, मंगलवार


Scroll to Top

Janata Media