पक्राउ परेका कमल थापा सहित ७ जना रिहा

जनता संवाददाता
२०८२ जेष्ठ १९ गते, सोमबार

काठमाडौँ । आइतबार दिउँसो राजावादीहरूको प्रदर्शनका क्रममा प्रहरी नियन्त्रणमा परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहित सात जना रिहा भएका छन्। डा. राजीव झा भने अझै प्रहरी हिरासतमै रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले नियन्त्रणमा लिइएका आठमध्ये सात जनालाई जिम्मा जमानीमा छाडिएको जानकारी दिए।

रिहा हुनेहरूमा अध्यक्ष थापा, सांसद सिंहका अतिरिक्त शिला राणा, व्यवसायी राकेश बस्नेत, सुन व्यवसायी रामचन्द्र लामिछाने, व्यवसायी विनोद कपाली र राप्रपा युवा मोर्चा नेपालका सदस्य सरोज तिमिल्सिना रहेका छन्।

उनीहरूलाई भीडलाई उक्साएको, अपशब्द बोलेको, निषेधित क्षेत्र तोड्न खोजेको र प्रहरीसँग धक्कामुक्की गरेको लगायतका आरोपमा प्रदर्शनस्थलबाट नियन्त्रणमा लिइएको थियो।

“आठ जनामध्ये सात जनालाई जिम्मा जमानीमा छोडिएको र डा। राजीव झालाई हिरासतमा राखिएको छ,” एसपी बोहराले भने।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते, सोमबार


Scroll to Top

Janata Media