काठमाडौँ । नेपालमा पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया ९सेक्स चेन्ज अपरेसन० गरिएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्लास्टिक सर्जरी विभागीय प्रमुख प्राडा. जयनमान श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोचोटी सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिए ।
प्राडा।श्रेष्ठले जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा लिङ्ग परिवर्तन शल्यक्रिया गरेको बताए । विदेशी प्लाष्टिक सर्जन डा. अलरिजा हामीदियान जारोमीको नेतृत्वमा प्लास्टिक सर्जरी विभागीय प्रमुख प्राडा।जयन मान श्रेष्ठको संयोजकत्वमा ६ घण्टा लगाएर उक्त शल्यक्रिया गरिएको हो ।
डा। श्रेष्ठका अनुसार पुरुषको लिङ्गको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अङ्गको पुनर्निर्माण गरिएको छ। यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
अस्पतालको प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका लिङ्ग पुष्टि गर्ने शल्यक्रिया गरेको उनको भनाइ छ । यो शल्यक्रिया गर्न विदेश जानुपर्ने बाध्यताका कारण धेरै खर्चिलो थियो ।
नेपालमै यो सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई धेरै राहत मिल्ने डा. श्रेष्ठको विश्वास छ । डा। श्रेष्ठका अनुसार अस्पतालमा उक्त शल्यक्रिया डेढ लाखदेखि दुई लाख खर्चमा गर्न सकिने डा। श्रेष्ठको भनाइ छ ।
अस्पतालका प्लाष्टिक सर्जन प्राडा. ईश्वर लोहानीले अबदेखि अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यी सेवाहरु सुचारु गर्ने जानकारी दिए ।
उनि भन्छन्, ‘कुनै पनि सेवा पहिलोपटक सुरु गर्नु ठुलो कुरा होइन । यो सेवालाई निरन्तरता दिने कुरा हो । सोही कुरालाई मध्यनजर गर्दै अस्पतालले यो सम्बन्धी ठुलो टिम बनाएर जेन्डर एफर्मिङ क्लिनिक स्थापना गरेर सेवा दिने सोच बनाएका छौँ ।’
लिङ्ग परिवर्तन शल्यक्रिया ट्रान्सजेन्डर व्यक्तिको लागि आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्ने एक महत्वपूर्ण उपायमध्ये एक हो । धेरै ट्रान्सजेन्डरले यो शल्यक्रिया गर्ने जरुरी नठाने पनि केही ट्रान्सजेन्डरले शल्यक्रियापछि आफू सम्पूर्ण रुपमा परिवर्तित लैङ्गिक पहिचानको पाएको महशुस गर्ने विश्वास गरिन्छ ।







