ताप्लेजुङ । ताप्लेजुङस्थित तमोर नदीले बगाएर बेपत्ता बनाएको दुई शव फेला परेको छ । प्रहरीका अनुसार तमोर नदीमा बेपत्ता एक बालिका र एक महिलाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार जिल्लाको फुङ्लिङ नगरपालिका–३ टारबारीका निङ्मा साङ्गे शेर्पाकी छोरी ११ वर्षीया गङ्गा शेर्पा र आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीकी ३७ वर्षीया कमला शेर्पाको शव फेला परेको हो । बालिकाको शव तेह्रथुमको छथर गाउँपालिका–३ खिरखिरेस्थित नावाखोला नजिक तमोर किनारमा सोमबार फेला परेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
यस्तै महिलाको शव भने पाँचथरको हिलिहाङ गाउँपालिका–२ दुधेपानीस्थित तमोर किनारमा फेला परेको उनले जानकारी दिए । प्रहरीका अनुसार गत जेठ २२ गते तमोर नदीमा पानी पिउने क्रममा अचानक चिप्लिएर बालिका गङ्गा बेपत्ता भएका थिए । यस्तै फूलबारीकी कमला भने जेठ १९ गते आफ्नै घरबाट एकासी हराएका थिए ।
कमला घरबाट कसैलाई थाहा नदिई बेपत्ता भएको र बालिका तमोर नदीमा परेर बेपत्ता भएको भनी प्रहरी कार्यालयमा परेको निवेदनका आधारमा प्रहरीले खोजतलास गरिरहेको थियो । बेपत्ता बालिका र महिलाको खोजतलास गर्ने क्रममा तमोर नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







