सामाजिक सुरक्षा भत्ता हिनामिनामा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनता संवाददाता
२०८२ असार १ गते, आईतवार

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता मिलेमतोमा वितरण गरेको आरोपमा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार आर्थिक वर्ष २०५७/५८ देखि २०७२र७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जना व्यक्तिलाई नागरिकतामा उल्लिखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रूपमा तथा नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रूपमा सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गरिएको देखिएको छ ।

उहाँका अनुसार, सामाजिक सुरक्षा भत्ता हिनामिनामा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बाँके जिल्लाको साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तव र तत्कालीन सचिव सावितराम कुर्मीको मिलेमतोमा सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरी ६ लाख ५६ हजार सात सय रुपियाँ हिनामिना गरेको पुष्टि भएको छ ।

सो समितिका कार्यालय सचिव अशोक कुमार श्रीवास्तवसहित सो सामाजिक सुरक्षा भत्ता बुझी लिने साहजीमा खातुन, अवधराम बढही, रामजीवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौं मुराउ, जंगली कडरिया, हरिराम अहिर, बारी खाँ, मोति भुजुवा र सन्तराम बडहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरूविरुद्ध सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार १ गते, आईतवार


Scroll to Top

Janata Media