सप्तरीमा प्रहरीले गोली चलायो, एक जनाको मृत्यु

जनता संवाददाता
२०८२ श्रावण २१ गते, बुधबार

राजविराज । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। राजगड गाउँपालिका(२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो।

भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो।

प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। सो क्रममा यादवको तिघ्रामा गोली लागेको हो।

गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

राजगड गाउँपालिका-२ स्थित नेपाल-भारत सीमामा ‘सर्च अप्रेसन’ गर्दा उक्त ठाउँबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ।

यस्तै चार दिन अगाडि पनि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका-१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो। प्रहरीले छिन्नमस्ता-१ बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी-७ का मनोज रायलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : २०८२ श्रावण २१ गते, बुधबार


Scroll to Top

Janata Media