राज्य व्यवस्था समिति सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा

जनता संवाददाता
२०८२ श्रावण २७ गते, मंगलवार

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मङ्गलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले समिति सभापतिबाट राजीनामा दिएका हुन् ।

राज्य व्यवस्था समितिबाट पारित भएको निजामति कर्मचारीसँग सम्बन्धित निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटी भएको निष्कर्ष संसदीय छानबिन समितिले निकालेपछि उनले समिति सभापतिको पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिनुअघि सदनलाई सम्बोधन गर्दै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागु हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा रहिरहने दाबी गरेका छन् ।

राज्य व्यवस्था समितिको विधायिकी मनसाय विपरीत विधेयकको प्रतिवेदन तयार भएको दाबीसमेत खतिवडाले गरे। उनले निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिबाट नभएको दाबी गर्दै अन्तिम रूपलाई गहिरिएर नहेर्नु कमजोरी भएको स्वीकार गरे।

कर्मचारीका लागि विश्वास गर्दा त्रुटि हुन पुगेको उनको भनाइ छ। राजीनामा दिँदै खतिवडाले आफू कूटिल राजनीतिको सिकार भएको उल्लेख गरे।

संसदीय छानबिन प्रतिवेदनले आफूलाई दोषी नठहर्‍याएको पनि खतिवडाले दाबी गरे। राजीनामा घोषणा गर्दै खतिवडाले भने, ‘‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु।’

प्रकाशित मिति : २०८२ श्रावण २७ गते, मंगलवार


Scroll to Top

Janata Media