काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री बानियाँले प्रदेश सभाको मङ्गलबार बसेको बैठकबाट विश्वासको मत पाएका हुन् ।
११० सदस्य रहेको बागमती प्रदेश सभाको मङ्गलबारको बैठक मतदानमा उपस्थित ९२ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ६३ मत र विपक्षमा २२ मत परेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराए। उनले मुख्यमन्त्री बानियाँले विश्वासको मतको लागि राखेको प्रस्तावको पक्षमा ६३ मत परेको र उक्त सङ्ख्या प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकोले मुख्यमन्त्री बानियाँले राख्नुभएको विश्वासको प्रस्ताव बहुमतले पारित भएको प्रदेश सभामुख पाठकले घोषणा गरे।
विश्वासको मतका लागि भएको मतदानमा सात जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए। मुख्यमन्त्रीले राखेको विश्वासको मत माथिको प्रस्तावको विपक्षमा नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी मत दिएका थिए।
बागमती प्रदेश सभामा माओवादी केन्द्रको २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३ जना, नेकपा (एकीकृत माओवादी समाजवादी) का सात र हाम्रो नेपाली पार्टीका दुई र नेपाल मजदुर किसान पार्टीका तीन जना प्रदेश सभा सदस्य रहेका छन्।
नेपाल मजदुर किसान पार्टी विश्वासको मतमाथिको मतदानमा तटस्थ बसेको छ। बानियाँ एमालेको समर्थनमा यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।







