पहिरो खसेर खलङ्गा–गोकुलेश्वर सडक अवरुद्ध

जनता संवाददाता
२०८२ भाद्र २ गते, सोमबार

दार्चुला । गएराति भएको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा दार्चुलाको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक रानीबाँसस्थित सडकमाथिबाट पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । पहिरो राति खसेको बताइएको छ ।

पहिरोले खलङ्गा–गोकुलेश्वर सडकखण्डको २०/३० मिटर क्षेत्र पुरेको उनले बताए । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । सडक अवरुद्ध हुँदा दार्चुलाबाट बाहिरीने र भित्रिने छोटो तथा लामो दूरीका सवारीका साधनहरु चल्न सकेका छैनन् । काठमाडौँ, महेन्द्रनगर र धनगढीबाट दार्चुला आउने र दार्चुलाबाट उल्लेखित ठाउँहरुमा जाने सवारीका साधनहरु पहिरो खसेको ठाउँमा पुगेर रोकिएका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते, सोमबार


Scroll to Top

Janata Media