काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुब्लाएको र उनको अनुहारमा कष्ट प्रष्टै देखिएको बताएका छन्।
बुधबार साँझ लामिछानेलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले लामिछानेका लागि भैरहवामा हिरासत बसाइ निकै कष्टकर रहेको बताए।
‘भैरहवामा बस्दाको स्थिति अलि धेरै नै जटिल रहेछ। उहाँको अनुहारमा पनि देखिन्छ, उहाँ दुब्लाउनुभएको छ,’ दाहाल भने, ‘उहाँको भाषामा भन्नुपर्दा भैरहवामा झन्डै(झन्डै गोलघर जस्तै गरिराखियो, धेरै ठूलो पीडामा भएँ भन्ने थियो।’
यद्यपि, काठमाडौंको नख्खु कारागारमा सार्दाको व्यवस्थापनप्रति भने लामिछानेले सन्तोष व्यक्त गरेको दाहालले जानकारी दिए। ‘यहाँ आएपछिको स्थिति, बसाइ, खानपिन सबै व्यवस्थापन भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर उहाँले यहाँको व्यवस्थापनको प्रशंसा पनि गर्नुभयो,’ उनले थपे।
आफ्नो दुई पटकको मन्त्रिपरिषद्मा गृहमन्त्री रहेकाले अभिभावकको हैसियतले लामिछानेलाई भेट्न गएको बताउँदै दाहलले भेटमा राजनीतिक कुराकानी भने खासै नभएको बताए।
उनका अनुसार लामिछानेले आफूमाथि सत्ता गठबन्धनले प्रतिशोध साँधेको र भेदभावपूर्ण व्यवहार गरेको गुनासो दोहोर्याएका थिए। ‘मेरो जस्तै केसमा अरुले उन्मुक्ति पाउने, मलाई मात्रै लखेटियो भन्ने उहाँको पहिलेदेखिको भनाइ थियो, अहिले मेरो अगाडि पनि त्यो कुरा राख्नुभयो,’ दाहालले भने।
लामिछानेले सत्ता गठबन्धनका गतिविधिले उल्टै आफ्नो पार्टीलाई फाइदा पुगेको विश्लेषण सुनाएको दाहालले उल्लेख गरे। ‘कांग्रेस(एमालेले उहाँमाथि जसरी व्यवहार गरेको देखिएको छ, त्यसले उहाँ र उहाँको पार्टीलाई देशभरि फाइदा भएको छ भन्ने कुरा उहाँले राम्रो बुझ्नुभएको रहेछ,’ उनले भने, ‘कांग्रेस(एमालेले आफ्नै खुट्टामा बन्चरो हान्ने काम किन गरेका होलान् भन्ने नै उहाँलाई लागेको कुरा रहेछ।’







