हुम्ला युवा समुहले बुझायो प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई ज्ञापन पत्र

जनता संवाददाता
२०८२ आश्विन ९ गते, बिहीबार

काठमाडौँ । हुम्ला युवा समुहले प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । प्रधामन्त्रीलाई हवाई भाडाका सन्दर्भमा र सञ्चारमन्त्रीलाई मोबाइल नेटवर्कका सन्दर्भमा ज्ञापन पत्र बुझाएको हो ।

प्रधानमन्त्री शुशिला कार्कीलाई निजि सचिवालय मार्फत र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई पनि निजि सचिवालय मार्फत ज्ञापन पत्र बुझाइएको हो ।

प्रधामन्त्री कार्कीलाई बुझाइएको ज्ञापन पत्रमा दशैंमा काठमाडौं देखि नेपालगंज र नेपालगंज देखि हुम्ला, डोल्पा जस्ता दुर्गम क्षेत्रमा नागरिक उड्डयन सेवा प्रदायकहरुले हवाई भाडा ५१ प्रतिशतले वृद्धि गरेको मुल्यवृद्धिले दुर्गम जिल्लाका बासिन्दाहरु, बिरामी, बिद्यार्थी, तथा पर्वका लागि गाउँ फर्किन चाहने नागरिकहरुलाई गम्भिर आर्थिक बोझ परेको भन्दै ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री कार्कीलाई गरेको ध्यानाकर्षण पत्रमा तिन ओटा माग गरेको छ ।
१. दशै तथा चाडपर्वको समयमा काठमाडौ देखि दुर्गम क्षेत्र सम्मको हवाई भाडा सरकारले तोकेकोदरमा सिमीत गर्न कडाईका साथ अनुगमन गर्न ।
२. नागरिक उड्डयन प्राधिकरणलाई मुल्य नियन्त्रण र दण्ड प्रकिया स्पष्ट र कठोर बनाउन निर्देशन दिन ।
३. नेपालगंज देखि हुम्ला उड्डयन एरलाइन्स जस्तैःसमिट, सिता, नेपाल एरलाइन्स र ताराले विदेशी यात्रुको बखत मात्र नभई प्रत्येक दिनको एक फलाइट गर्नु पर्ने ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेललाई बुझाइएको ज्ञापन पत्रमा हिमाली जिल्लाहरु विशेष गरी हुम्ला, डोल्पा, मुगु, बाजुरा लगायतका क्षेत्रमा अझै पनि संचार सेवाबाट बञ्चित, कमजोर संचार पहुँचको समस्यामा भएको र इन्टरनेट, मोबाइल नेटवर्क तथा संचार प्रसारण सेवामा निरन्तर अवरोध र कमीको कारण शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा र आपत्कालीन उद्वार कार्यमा ठूलो कठिनाइ भोग्नु परेको छ भन्दै तत्काल ध्यान दिन उल्लेख गरिएको छ ।

सञ्चार मन्त्री खरेललाई बुझाइएको ज्ञापन पत्रमा निम्न तिन ओटा माग उल्लेख गरिएको छ ।
१. दुर्गम हिमाली क्षेत्रमा द्रुत गतिको इन्टरनेट सेवा विस्तारको लागि आवश्यक बजेट, प्रविधी र नितीगत पहल तुरुन्त गर्न ।
२. नेपाल टेलिकम, निजी टेलिकम कम्पनी प्रसारण माध्यमलाई ग्रामीण क्षेत्रमा सेवा विस्तारको अनिवार्य मापदण्ड पालना गराउन ।
३. हवाई भाडामा मनपरि मुल्यवृद्वि रोक्न नागरिक उड्डयन प्राधिकरण मार्फत कडाई अनुगमन र नियन्त्रणको व्यवस्था गर्न ।

प्रधामन्त्रीको निजि सचिवालय । सञ्चार मन्त्रीको निजि सचिवालयले पनि तत्काल काम गर्ने आश्वासन दिएको हुम्ला युवा समुहका प्रतिनिधिहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८२ आश्विन ९ गते, बिहीबार


Scroll to Top

Janata Media