सेतु २०२६ ललितपुरस्थित पुल्चोक क्याम्पसका सम्पूर्ण विभागका अन्तिम वर्षका विद्यार्थी तथा हालै स्नातक भएकाहरूका लागि आयोजना गरिएको तीन दिने करियर अभिमुखी कार्यक्रम सञ्चालन गरिने भएको छ । यहि ज्येष्ठ २३, २४ र ३० गते विद्यार्थीहरूको नेतृत्वमा सञ्चालन हुने यस कार्यक्रमले इन्जिनियरिङ शिक्षा र व्यावसायिक क्षेत्रबीचको दूरी कम गर्दै विद्यार्थीहरूलाई करियर, रोजगारी तथा व्यावसायिक विकासका अवसरहरूसँग जोड्ने उद्येश्यले करियर अभिमुखी कार्यक्रम सञ्चालन गरिने भएको हो ।
कार्यक्रमको पहिलो दिन विभिन्न क्षेत्रका विज्ञ, उद्योग प्रतिनिधि तथा पूर्वविद्यार्थीहरूसँगको अन्तरक्रियामार्फत करियर मार्गदर्शन प्रदान गरिनेछ। विद्यार्थीहरूले आफ्नो विषयअनुसार उपलब्ध करियरका सम्भावना, उद्योग, अनुसन्धान, उद्यमशीलता, लोकसेवा, उच्च शिक्षा तथा विदेश अध्ययन लगायतका विविध अवसरबारे जानकारी प्राप्त गर्नेछन्।
दोस्रो दिन CV तथा पोर्टफोलियो निर्माण कार्यशाला र Mock Interview सञ्चालन गरिनेछ, जसले विद्यार्थीहरूलाई रोजगार बजारका लागि आवश्यक तयारी गर्न सहयोग पुर्याउनेछ।
तेस्रो दिन उद्योग तथा संस्थाहरूको प्रत्यक्ष सहभागितामा Placement Session सञ्चालन हुनेछ। सहभागी उद्योगहरूले विद्यार्थीहरूसँग अन्तर्वार्ता लिई आफ्नो आवश्यकता अनुसार उपयुक्त उम्मेदवार छनोट गर्नेछन्। छनोट भएका उम्मेदवारहरूले सम्बन्धित उद्योग तथा संस्थाहरूमा रोजगारीका अवसर प्राप्त गर्न सक्नेछन्।
कार्यक्रमका दोस्रो र तेस्रो दिन स्टार्टअप तथा उद्यमशीलतासम्बन्धी विशेष कार्यशालाहरू पनि सञ्चालन गरिनेछन्, जसले विद्यार्थीहरूलाई नवप्रवर्तन, व्यवसाय विकास तथा आफ्नै उद्यम सुरु गर्ने सम्भावनाबारे मार्गदर्शन प्रदान गर्नेछ।
सेतु २०२६ ले विद्यार्थी, उद्योग, पूर्वविद्यार्थी तथा शैक्षिक संस्थाबीच सहकार्यको वातावरण सिर्जना गर्दै भविष्यका दक्ष, सक्षम र रोजगारमुखी इन्जिनियर तयार पार्न योगदान पुर्याउने विश्वास लिइएको छ।
आयोजक मध्ये एक विद्यार्थी प्रशंसा सुबेदीले भनेकी छन्, “इन्जिनियरिङ शिक्षा र व्यावसायिक क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ SETU 2026 आयोजना गरिएको हो। यस कार्यक्रमले विद्यार्थीहरूलाई करियर तयारी, उद्योगसँगको प्रत्यक्ष अन्तरक्रिया तथा रोजगारीका अवसरहरूसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।”







