प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता आज

जनता संवाददाता
२०७९ आश्विन २३ गते, आईतवार

काठमाडौं । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ । उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत पनि उम्मेदवारी दिन सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।

त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ । २६ असोजमा उम्मेदवारले नाम फिर्ताको समय पाउनेछन् ।

निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय २ असोजलाई तोकेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्षतर्फ भने उम्मेदवार हुन पाउने छैनन् ।

 

प्रकाशित मिति : २०७९ आश्विन २३ गते, आईतवार


Scroll to Top

Janata Media