काठमाडौं । दसैँ विदाको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल सुरु भएको छ ।
सफा मौसम र बाढी पहिरोले क्षतिग्रस्त सडक मर्मत सम्भार गरेर सहज पारेसँगै आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरको पदयात्राका लागि पर्यटक पुग्न थालेका हुन ।
दसैँ–तिहार विदा मनाउन समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा अवस्थित आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदैगएको छ ।
दसैँ लगत्तै यस क्षेत्रमा आन्तरिक पर्यटको चहलपहल बढ्न थालेपछि बेनी, भुरुङ–तातोपानी र नारच्याङका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । दसैँको दिन करिब एक सयभन्दा बढी आन्तरिक पर्यटक हुमखोला हुँदै आधार शिविरको पदयात्रामा निस्केका छन् ।
बिहीबार यो संख्या बढेर दुईसय पचास पुगेको स्थानीय पर्यटनकर्मी तथा मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । उहाँँका अनुसार शुक्रबार पाँच सयभन्दा बढी पर्यटक आधार शिविरतर्फ लागेका छन् ।
असोज दोस्रो साता आएको बाढीपहिरोको कारण सुस्ताएको पर्यटन क्षेत्र दसैँ सुरु भएसँगै फेरि पुरानै लयमा फर्किन थालेपछि पर्यटन व्यवसायीहरु खुसी भएको उनले बताए ।
उनले भने, ‘‘बाढीपहिरोका कारण पर्यटन व्यवसायलाई पनि असर गरेको थियो । असोजको दोस्रो साताको अविरल वर्षाका साथै आएका बाढीपहिरोले पर्यटन क्षेत्रमा असर प¥यो । दसैँ अघि सुनसान भएको अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा दसैँका दिनदेखि चहलपहल सुरु भएको छ ।”
नारच्याङ गाउँदेखि दुई दिनमा पुग्न सकिने सुन्दर पर्यटकीय स्थल भएकाले दसैँ–तिहार विदामा आन्तरिक पर्यटकको संख्या अझै बढ्ने मौरीस हर्जोग पदमार्गका अभियन्ता गुरुङले बताए । म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवन लगायतका जिल्लाबाट आन्तरिक पर्यटकहरु भ्रमणमा आएको उनले बताए ।
पर्यटकको सहजताका लागि पदमार्गको हुमखोलादेखि आधार शिविरसम्मको विभिन्न स्थानहरुमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना र बस्ने सुविधासहितका होटल सञ्चालनमा ल्याइएको छ ।
सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थल निर्माण गरिएको छ । हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी र शौचालय लगायतका पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । सङ्घीय, प्रदेश र गाउँपालिकाको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरुको मर्मतसम्भार गरिएको छ ।
आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक राखिएको छ भने खुल्ला सङ्ग्रहालय स्थापना गरिएको छ । पहिलो आरोही मौरिस हर्जोगका नामबाट पदमार्गको नामाकरण गरिएको हो ।
नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म २० किलोमिटर सवारी साधनमा पुगेर त्यहाँबाट करिब २१ किलोमिटर पैदलमार्ग हुँदै दुई दिनको पदयात्रापछि अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ ।
पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ ।







