दिपक बुढा, काठमाडौं । काठमाडौँको माछापोखरी–बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण यो क्षेत्र तनावग्रस्त बनेको छ ।
आन्दोलनकारीले प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका छन् । यस्तै उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि भत्काइ दिएका छन् । मुल सडकमै प्रहरीको दुई वटा भ्यानमा आगलागी हुँदा घटनास्थलमा प्रहरी भने देखिएका छैनन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ पछिल्लो समय ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध आन्दोलनरत छन् ।
सोमबार बालाजु, माछापोखरी, गोंगबु र सामाखुसी चोकमा उनीहरुको सडक अवद्ध गरेका थिए । उनीहरुले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक सवारी बन्दको घोषणा पनि गरेका छन् ।
यातायात व्यवसायी संघले बालाजु एरियामा सार्वजनिक गाडीहरु बीच बाटोमा रोकेर विरोध गरेका छन् भने ट्राफिकले आफूखुसी नियम लगाई चिट काटेको पनि गुनासो गरेका छन् ।
सर्वसाधारण भने, हात उठाएमा प्रहरी र आन्दोलनकारी दुबै पक्षले सर्वसाधारण हो भन्ने चिनेर आक्रमणमा नपर्ने ठानेर सर्वसाधारणको ठूलो संख्या हात उठाएर हिँडिरहेका छन् ।







