कजाकिस्तान विमान दुर्घटना अपडेटः ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार

जनता संवाददाता
२०८१ पुष ११ गते, बिहीबार

कजाकिस्तान । अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ भने २८ जनाको जीवितै उद्बार गरिएको छ ।

कजाकिस्तानका अधिकारीहरूले बाकूबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको बताएका छन् ।

विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए भने २८ जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । उक्त विमान अजरबैजानको राजधानी बाकुबाट क्यास्पियन नदीको पश्चिमी किनारमा रहेको दक्षिणी रुसको चेचन्यास्थित ग्रोज्नी शहरका लागि उडेको थियो ।

विमान दुर्घटनापछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले पूर्व सोभियत राष्ट्रहरूको समूह ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स’का नेताहरूको अनौपचारिक शिखर सम्मेलनमा भाग लिन रूसको भ्रमणको कार्यक्रम छोट्याएको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विमानमा अजरबैजानका ३७ जना, कजाकिस्तानका छ जना, किर्गिस्तानका तीन जना ररूसका १६ जना रहेको कजाकिस्तानको यातायात मन्त्रालयले जनाएको छ ।

“प्रारम्भिक जानकारीअनुसार विमानमा सवार दुई बालबालिकासहित २८ जनालाई अस्पताल भर्ना गरिएको छ,” मन्त्रालयले भनेको छ । घटनास्थलमा १५० भन्दा बढी तालिमप्राप्त कर्मचारी उद्धारका लागि जुटेका थिए ।

कजाकिस्तानमा एक विमान दुर्घटना, २५ जनाको जीवितै उद्धार

प्रकाशित मिति : २०८१ पुष ११ गते, बिहीबार


Scroll to Top

Janata Media