एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

जनता संवाददाता
२०७९ फाल्गुन १० गते, बुधबार

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकमत नहुँदा सत्ता साझेदारी नै संकटमा परेको छ ।

एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने माग राखे पनि प्रचण्ड माओवादी केन्द्र सहमत देखिएको छैन । माओवादी नेताहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस समेत छ ।

लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन आग्रह गर्दै लोसपाका नेताहरुले आज कांग्रेस सभापति देउवासँग छलफलसमेत गरेका छन् ।

राष्ट्रपतिमा कांग्रेसले पनि दाबी गरेको छ । निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते, बुधबार


Scroll to Top

Janata Media