केपी ओली कपको उपाधिका लागि सातदोबाटो र मछिन्द्र भिड्दै

जनता संवाददाता
२०७९ फाल्गुन १७ गते, बुधबार

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा आज सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लब भिड्दै छन्। दशरथ रंगशालामा साँझ पाँच बजे सुरु हुने खेलअघि सांगीतिक कार्यक्रमको आयोजना गरेको राष्ट्रिय युवा संघले जानकारी दिएको छ।

फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा सातदोबाटो र मछिन्द्रले स्थान बनाइसकेका छन्। पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २(१ गोलको नतिजामा पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको थियो।

सेमिफाइनलमा अर्को विभागीय महारथी त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सातदोबाटो पहिलो संस्करणको फाइनलमा पुगेको हो। यस्तै, पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडलाई २(१ ले पराजित गर्दै मछिन्द्र अन्तिम चारमा पुगेको थियो।

आयोजक केपी एफसीलाई १(० ले पराजित गर्दै मछिन्द्र फाइनलमा पुगेको हो। आज हुने फाइनलको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदीयमान खेलाडीलाई ५० प्रदान गर्ने आयोजकको तयारी छ।

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते, बुधबार


Scroll to Top

Janata Media