गोकर्णेश्वर नगरपालिकामा फागुन २७ र २८ गते खुल्ला तेक्वान्दो हुने

जनता संवाददाता
२०७९ फाल्गुन २६ गते, शुक्रबार

काठमाडौं । गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, गोकर्णेश्वर खेलकुद विकास समितिको आयोजना तथा इष्टपोल उच्च माविको व्यवस्थापनमा प्रथम गोकर्णेश्वर नगरपालिका खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता (मेयर कप २०७९) यही फागुन २७ र २८ गते हुने भएको छ ।

तेक्वान्दो खेलाडीहरुको वृत्ति विकास तथा मनोभावना उच्च बनाउने र भविष्यमा गोकर्णेश्वर नगरपालिकामा तेक्वान्दो खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा कूल १८ तौल समूहमा प्रतिस्पर्धा गराइनेछ । जसमा पुरुषतर्फ सिनियर र जुनियर गरी १० तौल समूह समावेश छ भने महिलामा सिनियर र जुनियर गरी ८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विभिन्न १० स्कुल तथा ८ वटा डोजाङ गरी कूल ३१० खेलाडी (पुरुष १८० र महिला १३०) प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमसहित दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । महिला र पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई बेस्ट फाइटर अवार्डबाट सम्मानित गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते, शुक्रबार


Scroll to Top

Janata Media