काठमाडौ । कामाइक्रोब्लगिङ साइट ट्वीटरमा एउटा ठूलो बग देखिएको छ । उक्त बगका कारण ट्वीटर प्रयोगकर्ताले डिलिट गरिसकेका पूराना ट्वीटहरु पनि देखिन थालेका छन् । साथै यो बग पत्ता लागेसँगै प्रयोगकर्ताहरुलाई उनीहरुको प्रोफाइल भेरिफाइ गर्नका लागि भनिएको छ र पुराना ट्वीटका बारेमा पनि सोधिंदैछ ।
द भर्जका एक पत्रकारले यस्तो खुलासा गरेका हुन् । उनको दाबी अनुसार दुई हप्ताअघि उनले आफ्ना सबै ट्वीट डिलिट गरेका थिए । तर ट्वीटरले ती सबै ट्वीटलाई रिस्टोर गरिदियो । रिस्टोर भएका ट्वीटमध्ये २०२० का ट्वीट पनि थिए ।
द भर्जका ती पत्रकार पछि अरु धेरै ट्वीटर प्रयोगकर्ताले पनि यस्तै दाबी गरेका छन् । एक प्रयोगकर्ताका अनुसार उनले गतवर्ष नोभेम्बरमा डिलिट गरेको ट्वीट अहिले अचानक देखा परेको छ । दाबी अनुसार ३८ हजार ट्वीट डिलिट गरेकोमा त्यसमध्ये ३४ हजार ट्वीट आफैं रिस्टोर भएका छन् ।
ट्वीटरमा गम्भीर बगका कारण यस्तो समस्या आएको भएता पनि ट्वीटरले भने आधिकारिक रुपमा केही बताएको छैन ।







