मुगु । मुगुको बालै गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीयहरूमा उत्साह छाएको छ। गाडी आगमनलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै उनीहरूले फूलमाला, पूजा, नाचगान र परम्परागत देउडा गीतमार्फत भव्य स्वागत गरे।
सदरमुकाम गमगढीबाट लिउडी हुँदै बालै र माथि बालै जोड्ने सडक ट्र्याक खुल्ला भएसँगै गाडी माथि बालैसम्म पुगेको हो। वर्षौँदेखिको गाडी चढ्ने सपना साकार भएपछि गाउँलेहरूले खुसी साटासाट गरे। अब बिरामी, सुत्केरी वा तरकारी बोक्नका लागि डोकोको भर पर्ने बाध्यता अन्त्य भएको स्थानीयबासी बताउँछन्।
छायाँनाथ रारा नगरपालिकाको २० लाख रुपैयाँ लगानीमा उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण भएको हो। बिहीबार आयोजित समारोहमा नगरप्रमुख विष्णु कुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले सडक उद्घाटन गरे।
नगरप्रमुख भामले चुनावी प्रतिबद्धताअनुसार गाउँगाउँमा सडक र विद्युत् पुर्याउने काम तीव्र रूपमा अघि बढिरहेको बताए। उनका अनुसार नगरपालिकाभित्रका ८७ गाउँमध्ये अधिकांशमा सडक पुगिसकेको छ भने बाँकी रहेका कम्फा, तिर्प, सुम्ली, मुर्मा र सालिम गाउँमा पनि आफ्नो कार्यकालमै सडक पुर्याउने लक्ष्य छ।







